हिँड्ने बाटो नै रोकिएपछि बढ्यो कोशीका तीन जिल्लामा हात्तीको आक्रमण

मंसिरमा मात्र चार जनाले गुमाए ज्यान

गएको मंसिर ५ गते झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणमा परी ज्यान गयो। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा दाउरा काट्न गएका बेला हात्तीले तामाङलाई आक्रमण गरेको थियो।

मंसिर १३ गते राति सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी-२ का रबिन खड्काको मृत्यु भयो। चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको थियो।

मंसिर १८ गते बिहान लेटाङ-३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी-१०, भाउन्नेमा आक्रमण गर्‍याे। मंसिरयता मात्र हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १/१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समय यता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन्। लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतंक मच्चाइरहेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता सुनिल दाहालका अनुसार सुनसरी, मोरङका विभिन्न स्थानमा हात्तीको समूहमा १० देखि १८ वटा हात्ती छन्। मंसिर महिनादेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन्। पछिल्लो गएको मंसिर महिनादेखि झापासँगै मोरङ र सुनसरीका उत्तरी क्षेत्रका स्थानीय जंगली हात्तीबाट प्रभावित हुँदैछन्।

प्रत्येक दिनजसो जंगली हात्ती बस्तीमा प्रवेश गरेसँगै हात्तीको आक्रमणमा परेर स्थानीयले घाइते हुने र कतिपय अवस्थामा ज्यान समेत जाने क्रम अहिले पनि रोकिएको छैन। यसअघिका वर्ष नजिकको भारतीय जंगलबाट मेची नदी तरेर गाउँ पस्ने हात्ती बथानले झापा जिल्लाको चुरे क्षेत्र आसपासका स्थानीय सबै भन्दा बढी प्रभावित हुँदै आएका थिए। तर योपटक हिउँदमा झापासँगै मोरङ र सुनसरी जिल्ला पनि हात्तीको आतंकबाट स्थानीयहरू आजित छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार तीन हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन्।

भारत हुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रका जंगल क्षेत्रमा हात्ती आउने गरेका छन्। ‘प्रत्येक वर्ष हात्ती आउँछन्। हात्तीको आक्रमणबाट धनजन दुवैको क्षति हुने क्रम रोकिन सकेको छैन। मंसिरयता मात्र हात्तीको आक्रमणमा चार जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्,’ प्रहरी नायब उपरीक्षक दाहालले भने।

प्रहरी नायब उपरीक्षक दाहालले पछिल्ला समय मोरङको सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेलगायतका जंगल आसपासका क्षेत्रमा हात्ती केन्द्रित भएकाले सो क्षेत्रमा रहेका डिभिजन वन कार्यालयका सशस्त्र वन सुरक्षाको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली साइरनसहित हात्ती धपाउन परिचालन गरिएको छ।

मनव-हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डिराज पौडेका अनुसार भारतको पश्चिम बंगालदेखि आसामसम्म फैलिएको कोरिडोरका हात्तीका लागि नेपालतर्फको कोसी टप्पुसम्मको क्षेत्र हात्ती हिँड्ने परम्परागत रूटका रूपमा चिनिने गरिन्छ। त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी आइपुग्छ।

‘भारतबाट बथान आउने हात्तीको बथानले खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने मात्र गरेका छैनन्’ पौडेल भन्छन्, ‘किसानले लगाएको अन्नबाली हात्तीले नष्ट गर्ने क्रम बढी नै छ, यही सिलसिलामा कैयौं मानिसले हात्तीको आक्रमणको निशानामा परेर अकालमा ज्यानसमेत गुमाइरहेका छन्।’

यता कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०६८ देखि २०८० सम्म मसान्तसम्म कोसी प्रदेशका तिन जिल्ला झापा, मोरङ र सुनसरीमा ७२ जनाको मृत्यु भएको छ। जसमा जंगली हात्तीको आक्रमणबाट झापामा सबैभन्दा बढी ५३ जनाले ज्यान गुमाएको छन्।

प्रदेशमा गएको आर्थिक वर्ष ०७९/०८० मा मात्र ९ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन्। चालु आवको मंसिर मसान्तसम्म चार जनाले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् भने ६ घाइते भएका छन्। चालु आर्थिक वर्ष सुरू भएयता हात्तीको आक्रमणमा परी मंसिर महिनामा मात्र चार जनाले ज्यान गुमाएका हुन्।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख, संरक्षण अधिकृत एवं हात्तीका विषयमा विद्यावारिधि गरेका डाक्टर अशोककुमार रामले समूह बनाएर हिँड्ने हात्तीको बथानलाई पछिल्लाे समय जंगलको क्षयीकरण भएर बस्ती बढेपछि आहारमा समस्या हुँदै आएकाले हात्ती आहाराको खोजीमा गाउँ प्रवेश गर्ने क्रम बढेसँगै हात्ती र मानिसबीचको द्वन्द्व बढेको बताउँछन्।

‘मानिसको जनघनत्व बढेसँगै हात्तीको चरण क्षेत्र अतिक्रमणमा परेका छ’ हात्ती विज्ञ राम भन्छन्, ‘हात्ती आवतजावत गर्ने बाटोमा ठूला-ठूला संरचना निर्माण गरिएको छ।’ चरण क्षेत्रमा निस्किने हात्तीलाई अवरोध भएपछि हात्तीको समूह गाउँ पस्ने गरेका छन्, जसले गर्दा हात्तीको निशानामा मानिस पर्ने गरेको उनी बताउँछन्। राम भन्छन्, ‘हात्ती र मानिसबीचको द्वन्द्वको उपज हामी मानिस नै हो।’

संरक्षण अधिकृत रामका अनुसार पूर्वी नेपालमा पश्चिम बंगालबाट आहारको खोजीमा बर्सेनि हात्तीहरू नेपाल प्रवेश गर्ने गरेका छन्। टिस्टा खोला हुँदै झापाको प्रवेशद्वार बाउनडाँगीदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको क्षेत्र हात्तीको परम्परागत रूट हो।

हात्ती विज्ञ रामका अनुसार वर्षमा दुई पटक हिउँदको समय कार्तिकदेखि पुस विशेष गरी मकै पाक्ने सिजन र धान पाक्ने समय साउनदेखि कात्तिक महिनासम्म असममदेखि नेपालसम्म जंगली हात्तीहरू आउने गरेका छन्। ती सबै पाहुना हात्ती भएकाले केही समय पूर्वी नेपालका जंंगलमा बसेर फर्कने गरेका छन्।

पछिल्ला समय हात्ती हिँड्ने साविकका जैविक मार्ग मासिने क्रमसँगै उनीहरूको आवतजावतमा अवरोध सिर्जना भएकाले आहारका लागि हात्ती बस्तीमा प्रवेश गर्दा मानिस र हात्तीका बीच द्वन्द्व बढ्दै गएको हात्ती विज्ञ रामको भनाइ छ। यो क्रममा हात्ती प्रतिकार लक्षित गतिविधिले हात्ती पनि मारिने क्रम बढेको उनले बताए।

नेपालमा रैथाने २७० र वर्षका दुई पटक गरी १५० को संख्यामा नेपालका पूर्वी क्षेत्रमा भारतबाट हात्ती नेपाल आउने गरेका छन्। यता सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरे पनि अधिकांश पीडितले समयमै राहत रकम पाउँदैनन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारले १० लाख रूपैयाँ राहत पाउने व्यवस्था छ। सख्त घाइतेको उपचार सम्पूर्ण बेहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रूपैयाँसम्म दिने कानुनी व्यवस्था छ। घरगोठ भत्काएमा, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्‍याएमा १० हजार रूपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ। डिभिजन वन कार्यालय झापाले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित दुई हजार ७९५ जनालाई विभिन्न शीर्षकमा ४ करोड ४७ लाख १४ हजार ४४० रूपैयाँ राहत वितरण गरेको तथ्यांक छ।

स्रोत : ध्रुव भट्टराई, मोरङ/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *