स्वाइन फ्लु र निमोनिया संक्रमण बढ्दै

चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्। उनीहरूमा स्वाइन फ्लु (एचवान, एनवान), भाइरल निमोनिया, रुघाखोकी र ब्याक्टेरियल निमोनियाजस्ता बिरामी बढेको उपत्यकाका ठुला अस्पतालले जनाएका छन्।

सिभिल अस्पताल छाती रोग विभागले अहिले सबैभन्दा बढी ब्याक्टेरियल निमोनियाको संक्रमणका, त्यसपछि भाइरल निमोनिया र तेस्रोमा स्वाइन फ्लु (एचवान एनवान इन्फ्लुएन्जा) का बिरामी आइरहेको बताएको छ। तीमध्ये दुईजना स्वाइन फ्लुका बिरामी उपचाररत छन् भने १० जना अन्य निमोनियाका बिरामी छन्। दैनिक यस्ता बिरामी बहिरंग विभागमा १० देखि १२ जना पुग्ने गरेको विभागले जनाएको छ।

छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार भारत तीर्थ गएर फर्केका यात्रुमा भाइरल निमोनिया बढी देखिएको छ भने ब्याक्टेरियल (कीटाणुजन्य निमोनिया) उपत्यकाभित्रैका बिरामीमा छ। स्वाइन फ्लु पनि मौसमी फ्लुका रूपमा संक्रमण फैलिएको उनले बताए। अन्य निमोनियाको तुलनामा स्वाइन फ्लुको निमोनियामा बढी जटिलता रहेको उनले बताए।

टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा उपचारमा पुग्ने कुल बिरामीमध्ये १५ प्रतिशत बिरामी ज्वरो तथा निमोनियाको रहेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. रमेश महर्जनले जानकारी दिए। महर्जनका अनुसार उनीहरूमा दम र निमोनिया बढी देखिएको छ।

रेफरल बिरामी मात्र आकस्मिक कक्षमा आउने भएकाले सामान्य ज्वरो आएकाहरू जटिल बनेपछि मात्र आकस्मिक कक्षमा पुगेको उनले बताए। यो कक्षमा दैनिक १२० देखि १५० जना बिरामी उपचारका लागि पुग्छन्। अस्पताल मेडिकल विभागका अनुसार पछिल्लो दुई सातादेखि खोकी, ज्वरो र निमोनियाका बिरामी आइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर