हवाई उडान कालोसूचीमा पर्नुको कारणबारे संसदीय समितिले नेपाल एयरलाइन्ससँग छलफल गर्ने
संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (ईयू) को कालोसूचीबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सोसम्बन्धी छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।
निगम पदाधिकारीहरूले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गते बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।
निगमले नेपालको हवाई उडानलाई ईयूको कालोसूचीबाट हटाउनेसम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेस गर्नुपर्ने बताए ।
बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ईयूको प्रतिवेदनमा औंल्याइएको विषयलाई हल गरेर त्यसको कालोसूचीबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने बताए ।
उनले नेपाल वायुसेवा निगम एक्लैका कारणले नेपालको हवाई उडान क्षेत्रलाई ईयुले कालोसूचीमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिरसमेत गरे ।
कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि ईयूले औंल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को नेतृत्वमा मात्रै सफल हुने बताए ।
कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान ईयूको कालोसूचीमा पर्दा क्यानमाथि पनि प्रश्न उठेको बताए ।
प्रतिक्रिया