चीनका लागि जासुसी गरेको आरोपमा बेल्जियमका पूर्वसिनेटर पार्टीबाट निकालिए
बेल्जियमको अति दक्षिणपन्थी पार्टी भ्लाम्स बेलाङले युरोपमा चीनका लागि जासुसी गरेको आरोपमा पार्टीका पूर्वसिनेटर फ्रान्क क्रेयलम्यानलाई निष्कासन गरेको छ।
पार्टीका अध्यक्ष टम भ्यान ग्रीकेनले क्रेयलम्यानलाई निष्कासन गरिएको घोषणा गरेका हुन्।
‘उनको कार्य हाम्रो पार्टीको नामसँगै उद्देश्य र सारविरूद्ध हुन जान्छ,’ उनले भने, ‘राष्ट्रवादीहरूको एक मात्र वफादारी उनीहरूको आफ्नै राष्ट्रप्रति मात्र हुन सक्छ।’
सामचारहरूमा दाबी गरिएअनुसार क्रेयलम्यान विगत तीन वर्षदेखि चीनका लागि जासुसी गरिरहेका थिए।
यसबाट चिनियाँ जासुस एजेन्सीले तीन वर्षको अवधिमा हङकङमा प्रजातन्त्रमाथि चीनको क्य्राकडाउनदेखि यसको सतावटजस्ता मुद्दामा युरोपमा छलफललाई प्रभाव पार्न क्रेयलम्यानलाई कसरी प्रयोग गरेको थियो भन्ने स्पष्ट भएको रिपोर्टहरूलाई उद्धृत गर्दै पोलिटिकोले दाबी गरेको छ।
फाइनान्सियल टाइम्स, ले मोन्डे र डेर स्पिगलले चिनियाँ जासुसहरूले बेइजिङको पक्षमा प्रभाव बढाउन फ्रान्क क्रेयलम्यानलाई एक सूचनादाताका रूपमा प्रयोग गरेको दाबी गरेका छन्।
बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोले यस घटनालाई गम्भीरतासाथ लिएको बताएका छन्।
‘म यसलाई धेरै गम्भीरताका साथ लिन्छु,’ ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनमा पत्रकारहरूलाई उनले भने, ‘यसको मतलब यो हो कि केही मानिसहरूले हाम्रो देशको संसदमा बस्ने पार्टीबाट, सिनेटमा हाम्रो समृद्धि, हाम्रो सुरक्षा, हाम्रो लोकतन्त्रलाई भित्रैबाट तोडफोड गरिरहेका छन्।’
क्रेयलम्यानको सन् २०१९ देखि २०२२ का बीचमा चिनियाँ जासुस एजेन्सीका अधिकारी ड्यानियल वूसँग सम्बन्ध देखिएको दाबी गरिएको छ।
फाइनान्सियल टाइम्सले त उनीहरू दुईबीच सामाजिक सञ्जालमा भएको च्याट पनि सार्वजनिक गरेको छ।
प्रतिक्रिया