मौरी चराउन चितवनका चिउरी पाखामा व्यस्त छन् किसान

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ, उनले भने, फागुन अन्तिमसम्म मौरी यही राखिन्छ । उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए । विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ, उनले भने, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ । उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए । चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए । मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ, उनले भने, जिन्दगीको सबैभन्दा आनन्द यही हो ।

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए । उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेलले बताए ।

उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *