हिमाली क्षेत्र सबैभन्दा महँगो, त्यसपछि काठमाडौँ उपत्यका
नेपाल राष्ट्र बैंकको नियमित प्रतिवेदन अनुसार यतिबेला सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा रहेको छ भने त्यसपछि काठमाडौँ उपत्यकामा बढी महँगी छ। नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ।
केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ प्रतिशत बराबर छ। यस्तै तराईमा चार दशमलव ४२ प्रतिशत, पहाडमा छ दशमलव शून्य सात प्रतिशत र हिमालमा आठ दशमलव ७९ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः सात दशमलव ५६ प्रतिशत, आठ दशमलव ५२ प्रतिशत, आठ दशमदव शून्य तीन प्रतिशत र छ दशमलव ६८ प्रतिशत रहेको थियो।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको १० दशमलव ७६ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको पाँच दशमलव २७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक ८६ प्रतिशतले घटेको छ।
कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति आठ दशमलव शून्य आठ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव शून्य एक प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४ दशमलव ५९ प्रतिशत, फलफूलको १४ दशमलव शून्य एक प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव शून्य दुई प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४ दशमलव २३ प्रतिशत र पाँच दशमलब ३५ प्रतिशतले घटेको छ।
विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बढ्यो
यसैगरी विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ। आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ। कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ।
केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब दुई प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले वृद्धि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ। गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ।
आर्थिक वर्ष २०८०र८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो।
समीक्षा अवधिमा चालु खाता रु ९६ अर्ब ३८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३७ अर्ब ७९ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई रु एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु तीन अर्ब ६४ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४२ करोड ९२ लाख रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ।
आर्थिक वर्ष २०८०–८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई रु पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो।वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो।
चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ।
साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठ सय ४१ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो।
श्रोतः आइएनएस–स्वतन्त्र समाचार
प्रतिक्रिया