धनुषाको सबैलामा ६ वर्षीया बालिका मृत फेला, २ जना पक्राउ

२४ घण्टा देखि हराईरहेकी एक ६ वर्षिया बालिका खाल्डोमा जमेको पानीमा नग्न अवस्थामा मृत फेला परेकी छिन् । यो घटना धनुषाको सबैला नगरपालिका ९ कुसमहाको हो ।

विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता स्थानीय ६ वर्षीया बालिका राखी यादव मृत फेला परेकी हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बालिका नग्न अबस्थामा मृत फेला परेकी हुन् । उनको लुगा खाल्डो छेउमा भेटिएको छ ।
बालिका राखीको हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

विवाहपञ्चमीको अवसरमा मटकोर कार्यक्रम राखिएको र मंसिर २७ गते बेलुका मटकोर गर्न रथमा जाने क्रममा बालिका राखी बेपत्ता भएकी थिइन् । रातभर नभेटेपछि उनको अभिभावकले प्रहरीमा जानकारी गराएको थियो ।

‘बालिका बेपत्ता भएको जानकारी पाएलगत्तै खोजतलासका लागि प्रहरी परिचालन गर्यौं,’ डिएसपी अवाले भने, ‘प्रहरीले पनि नभेटेपछि तालिमप्राप्त कुकुर बोलायौं । कुकुरले पनि खोज्न सकेन । त्यसपछि शंका लागेर खाल्डोमा जमेको पानीमा खोज्दा बालिकाको शव हिजो बेलुका भेटियो ।’

बालिका राखीको शवको प्रकृति हेर्दा शंकास्पद देखिएको छ । डिएसपी अवाले पनि घटनाक्रम हेर्दा शंकास्पद देखिएको बताए । उनले भने, ‘घटना शंकास्पद छ । तर पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले केहि भन्न सक्दिन । अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर