समयअगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरूआतसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फुल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फुल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ ।

दैलेखको गुराँस गाउँपालिका-७, जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरूवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन् । ‘पहिला त पैयुँ वनैभरी थियो,’ उनी भन्छन्, ‘कात्तिक लाग्न थालेपछि फुलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरूवा हराउँदै गएको छ ।’

खड्का भन्छन्, ‘विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।’

गुराँस-८ का जगत बीसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । ‘यो बिरूवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘यो हराउनु सामान्य कुरा होइन ।’

पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस-८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन् । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालिगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालिगुराँस फुल्ने समयमा परिवर्तन आएको बताउँछन् ।

‘पहिला लालिगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरू गर्छ,’ उनी भन्छन् ।

शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरूवा पनि फुल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन् ।

पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदै आएका प्रध्यापक डा पुष्पराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘अहिले विश्वमै तापमानमा वृद्धि भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धिको असर फूल फुल्ने बिरूवामा अधिक पाइएको छ ।’ पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरूवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफैँ उम्रिने बिरूवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरूवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । ‘पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो,’ उनले भने ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयकी प्रवक्ता रेणुका न्यौपाने केही बिरूवाको संरक्षणका लागि काम भइरहेको बताउँछिन् । ‘पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन,’ उनले भनिन् । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *