लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु, २९ बिरामी

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका-४, पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका-९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका-८ स्थित क्षेत्रबहादुर गुरूङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन् । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लाग्ने भएपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् । भोज खाएका सोही पालिकाको वडा नं. ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालका बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *