दलका चुनाव लक्षित अभियान अलपत्र

प्रमुख विपक्षी दल एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शुक्रबार कास्की पुगेको छ। संघदेखि प्रदेशसम्म विपक्षमा रहेको एमालेले २०८४ सालको आमनिर्वाचनलाई केन्द्रित गर्दै सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा (बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ) जारी छ।

संकल्प यात्रा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अघि बढेको छ। यात्राको नवौं दिनमा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन सरकारले टाउको निहुर्‍याउने गरेको आरोप लगाए।

२०७९ सालमा भएको संसदीय निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेर नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धन टुटाउन ओली सफल भएका थिए। तर दाहाल एमाले समर्थनमा प्रधानमन्त्री भएको करिब दुई महिनामा पुरानै गठबन्धनमा फर्केपछि एमाले सत्ताबाहिर छ।

त्यसप्रति सरकारप्रति कठोर बनेको एमाले अर्को निर्वाचनको तयारीमा जुटेको छ। अघिल्लो निर्वाचनमा व्यक्त प्रतिबद्धता पूरा गर्न संसद्बाट सरकारलाई दबाब बढाउनुको साटो थरीथरीका अभियानका नाममा एमाले अलमलिएको स्वयं उसकै समर्थक र शुभचिन्तक बताउँछन्।

त्यस्तै संसद्मा विपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसन २०८४ (संसदीय निर्वाचन) अभियानमा जुटेको छ। सत्ता गठबन्धन दलसँग कुरा मिल्दा सत्ता साझेदारी गर्न पनि तयार रहेको रास्वपा देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीलाई समेत पार्टीमा संगठित गर्ने अभियानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजासहितको हिन्दुराज्य र संगठन निर्माण अभियानलाई एकैसाथ अघि बढाउने रणनीतिमा छ। नवीन राप्रपा निर्माण अभियानसहित उसले पार्टी उपाध्यक्षहरूलाई सात प्रदेशमा संगठन निर्माणमा खटाएको छ।

विपक्षी दलहरू मात्र होइन, सत्तारुढ दलहरूले पनि यसबीच आआफ्नै तरिकाले जनतासँग जोडिन विभिन्न अभियानको घोषणा गरे। सत्ता गठबन्धनमा आबद्ध दलहरूको अभियान पनि प्रभावकारी बन्न सकेको छैन।

साउन १० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले संगठन विस्तारका लागि एक वर्षे कार्यक्रम तयार गरेको थियो। त्यसैअन्तर्गत साउन २० देखि ३० सम्म एउटा अभियान चलाएको कांग्रेसले आन्तरिक किचलोका कारण बाँकी कार्यक्रम सञ्चालन गर्न सकेको छैन।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेसहित विपक्षी दलहरूले अहिलेदेखि नै मिसन २०८४ सञ्चालन गर्दै आएको भन्दै व्यंग्य गर्दै आएका छन्। कांग्रेसले ‘२०८४ को चिन्ता र चिन्तन गर्नैपरे २०८३ मा गरौंला’ भन्दै देश र जनताको हितमा विगतमा गरेका वाचा पूरा गर्न लाग्नुपर्ने बताउँदै आएको छ। याे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *