५ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई क्विन्टलभन्दा धेरै सुन बरामद

३८ क्विन्टल सुन तस्करी प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, देश नै तरंगित बन्यो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएन । फरक–फरक शैली र रूपमा तस्करी झन् मौलायो ।

गत २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्‍यो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीले सोचेका थिए, घटनामा ठूलै व्यापारिक घराना संलग्न छन् । तर, अनुसन्धानपछि खुल्यो, बरामद सुन दुई महिनाअघि मात्रै खोलिएको रेडी ट्रेड नामको कम्पनीले तस्करी गरी ल्याएको रहेछ । ट्रेडका मालिक थिए– दोलखाका दिलीप भुजेल, जो रोजीरोटीका लागि काठमाडौंमा ज्याला–मजदुरी गर्दै आएका थिए ।

भुजेललाई कुख्यात तस्कर चिनियाँ नागरिक वाङ डाओजिनले प्रयोग गरेका थिए । वाङकै निर्देशनमा ट्रेडबाट दुई महिनाभित्र थप ३०२.०६२ किलो सुन तस्कर गरिएको थियो । जसमध्ये ६०.७१६ किलो सुन मात्रै बरामद हुन सकेको थियो । बाँकी २४१.३४६ किलो तस्करहरूले सफलतापूर्वक गन्तव्यसम्म पुर्‍याएका थिए ।

गत ८ पुसमा अन्तर्राष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरी ल्याएका थिए ।

काठमाडौं उपत्यकाभित्रबाट पछिल्लो ६० महिनामा भन्सार कार्यालय र प्रहरीले साढे दुई क्विन्टल (२४१.८१ किलो) तस्करीको सुन बरामद गरेको छ । त्यसको ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको हो । हाल चलेको बजार भाउअनुसार बरामद सुनको मूल्य दुई अर्ब ४२ करोड ८४ लाख ९७ हजार आठ सय ३० रुपैयाँ पर्छ ।

तथ्यांकअनुसार तस्करीको दर विगत वर्षका तुलनामा पछिल्लो वर्ष बढेको छ । विमानस्थल भन्सार कार्यालयले ०७८/७९ मा विमानस्थलबाट ३१ किलो दुई सय ५० ग्राम सुन बरामद गरेको थियो । त्यस्तै, ०७९/८० मा विमानस्थलबाट एक सय १२ किलो पाँच सय ५७ ग्राम सुन बरामद गएको छ ।

यो दर अघिल्लो आर्थिक वर्षको तुलनामा २६०.२३ प्रतिशतले धेरै हो । जसले विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको बरु, स्वरूप बदलेर शतप्रतिशत बढेको देखाउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर