नेपालकाे पर्यटन प्रवर्द्धनका गर्न भारतीय पर्यटकका लागि ‘टुर गाइड’ आवश्यक पर्ने पर्यटनविद्हरूको सुझाव

लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरूले बाह्य पर्यटकको आगमन बढाउन सरकारीस्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।

नेपाल प्रवेश गर्ने सीमा नाकाहरू र अध्यागमन कार्यालयहरू परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।

यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरूको संस्था नेप्लिज होटेलियर्स एसोसिएशन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लिमिटेडसँग गरेको अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्राउन र उनीहरूको बसाई अवधि लम्ब्याउन नसकिने बताए ।

सरकारले पर्यटकमैत्री पूर्वाधार, नीति र कानुन बनाउन नसक्दा प्रचुर सम्भावना भएर पनि पर्यटन क्षेत्रबाट लाभ लिन नसकिएको अध्यक्ष पाठकको भनाइ छ । नारायणगढ-बुटवललगायत मुख्य राजमार्गका सडक र सडक पुलहरू निर्धारित समयमा बनाउन नसक्दा रुपन्देहीको होटेल व्यवसायमा ठुलो असर परेको पाठकको भनाइ छ ।

‘स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, अध्यागमन कार्यालयमा पर्यटकलाई सहज र सम्मानजनक व्यवहार हुन सकेको छैन,चर्को गर्मीमा पर्यटकहरू गाडीभित्र पसिनाले भिजेर कुर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष पाठकले भने, ‘नाका क्षेत्र धुलोमैलो मुक्त स्वच्छ, आकर्षक भयो र अध्यागमन कार्यालयबाट पर्यटकको काम ढिलासुस्तीविना फटाफट हुने हो भने मात्रै पनि पर्यटकमा नेपालप्रति धेरै राम्रो छाप पर्छ ।’

भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहे जति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न मागसमेत गरे ।

एसोसिएशनका उपाध्यक्ष दिलीप गौचनले बुटवलमा प्रदेशकै पहिलो केबलकार सञ्चालनमा आएपछि प्रदेश राजधानी सरेपछि सुस्ताएको बुटवल गुल्जार हुने आशा पलाएको भन्दै यसको प्रवर्द्धनमा सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने बताए । केबलकारमा पर्यटन सूचना केन्द्र स्थापना गर्न उपाध्यक्ष गौचनले सुझाव दिए ।

एसोसिएशनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रूपैयाँ साथमा ल्याउन दिनुपर्ने माग गरे । ‘पर्यटकलाई चाहे जति पैसा ल्याउन नदिएपछि पर्यटन व्यवसाय कसरी फस्टाउँछ ?,’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘बाह्य पर्यटकलाई जतिसक्दो धेरै रकम साथमा ल्याउन पाइने कानुनी व्यवस्था सरकारले गरिदिनुपर्छ अनि मात्र पर्यटनबाट लाभ लिन सकिन्छ ।’

एसोसिएसनका सदस्य प्रवीण शाक्यले भारतको उत्तर प्रदेश र बिहारको करिब ४० करोड जनसङ्ख्याको केही प्रतिशतलाई मात्रै बर्सेनि नेपाल आकर्षित गर्न सके पर्यटन व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै भारतीय पर्यटकलाई प्राथमिकता दिन र सम्मानजनक व्यवहार गर्न आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरेर टुर गाइड तयार गरी मार्केटिङ गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्क्रियामा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटक चढेका भारतीय सवारी साधन सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने प्रावधान उपयुक्त नभएकाले चुरे पहाडको फेदीसम्म आउन पाउने व्यवस्था हुनुपर्ने बताए ।

डेढ दशकसम्म अलपत्र परेको लुम्बिनी केबलकार परियोजनामा आईएमई ग्रुप मुख्य साझेदार बनेपछि दुई वर्षमै सञ्चालनमा आएको र टप स्टेसनमा बनेको कामाख्या देवी मन्दिर हिन्दू धर्मावलम्बी भारतीय पर्यटकलाई आकर्षण बनेको बताए ।

केबलको टप स्टेसनमा ४० लाख लागतम जीपलाइन सञ्चालनमा आइसकेका, डेढ करोड लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ,बाल उद्यान छिटै सञ्चालन हुने र साढे ३ अर्ब लगानीमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङ्कवेट हल, क्यासिनो र स्विमिङ पुल सहित पाँचतारे होटेल निर्माणको तयारीमा रहेको जानकारी गराए ।

जेठ १५ देखि सञ्चालनमा आएको लुम्बिनी केबलकार परियोजना पाँचतारे होटेलसहित ५ अर्ब रूपैयाँ लागतको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *