
एनसेलको खरिदबिक्री शंकास्पद छ, अपार कर छलीको गहिरो अनुसन्धान हुनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको खरिद-बिक्री शंकास्पद रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कांग्रेस महामन्त्री शर्माले एनसेलको अपार कर छलीको गहिरो अनुसन्धान जरुरी रहेको बताएका छन्।
‘६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिद-बिक्री शंकास्पद छ। यसलाई रोकेर यो अपार कर छलीको गहिरो अनुसन्धान जरुरी छ। अनियमितता विरुद्ध सम्पूर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पूर्ण रुपले एकढिक्का भएर उभिने संकेत सकारात्मक छ,’ शर्माले लेखेका छन्।
एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्न उनको आग्रह छ। ‘अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं। बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं,’ उनले भनेका छन्।
यस्तै एनसेलले पुँजीगत लाभकर नतिर्ने प्रपन्च गर्दा नो ट्याक्स, नो एनसेल अभियानको अघि बढाएको स्मरण शर्माले गराएका छन्।
प्रतिक्रिया