एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रहेको प्राधिकरणको निष्कर्ष, छानबिन गर्ने
विवादमा परेको एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। यस निष्कर्षपछि प्राधिकरण यसबारे छानबिन गर्ने निर्णयमा पुगेको छ।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले शेयर खरिद-बिक्री शंकास्पद भएकाले यसबारे छानबिन हुने बताए।
एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद-बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरूले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए।
मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको थियो।
शेयर बेचे पनि सन् २०२९ सम्म एनसेलबाट हुने लाभांश भने आफूले नै पाउने गरी सम्झौता गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
एनसेल आजियाटाले हालै यसबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको थियो।
मंसिर १५ गते शेयर खरिद-बिक्रीको पूर्वस्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भए पनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद-बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।
त्यसको जवाफमा प्राधिकरणलाई पत्र पठाउँदै एनसेल आजियाटाले नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ।
प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद–बिक्रीमा कम्पनीले नेपालको कानुन पालन गर्न तयार रहेको उल्लेख गरेको बताए।
प्रतिक्रिया