युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
विश्वका भाषासम्बन्धी आधिकारिक जानकारी प्रदान गर्ने वेबसाइट एथनोलग (२०२३) का अनुसार संसारमा अभिलेख भएका भाषाहरू जम्मा ७ हजार ६०८ छन् । जसमा बोलीचालीमा रहेका भाषाहरू जम्मा ७ हजार १६८ छन् ।
जीवन्त भाषाहरूमा पनि संस्थागत, स्थिर, जोखिममा परेका, र लोप भइसकेका गरी विभिन्न वर्गहरूका भाषालाई बाँडेर हेर्न सकिन्छ । हालसम्म जानकारीमा भएका मध्ये ४५१ भाषाहरू लोप भइसकेका छन् । जोखिममा परेका भाषाहरू पनि क्रमशः लोप हुँदै जाने खतरामा रहेका छन् ।
विभिन्न भाषिक परिवारमा विभक्त यी भाषाहरूमा भारोपेली परिवार अन्तरगत जम्मा ४५५ भाषाहरू रहेका छन् । संस्कृत र नेपाली यसै परिवार अन्तरगतका भाषा हुन् । यसरी भारोपेली परिवार अन्तर्गत रहेका भाषाहरूमा भारत इरानेली शाखामा जम्मा ३१२ भाषाहरू, भारत आर्येली उपशाखा अन्तरगत जम्मा २२० वटा भाषाहरू, र यसै शाखामा पर्ने संस्कृतको उपशाखा भित्र जम्मा ९९ भाषाहरू पर्दछन् ।
काल क्रमिक हिसाबमा संस्कार वा परिष्कृत गरिएको वा अभिलेखन र साहित्यको भाषाका रूपमा संस्कृतको पहिचान र विकास हुनु पूर्व यो भाषा अर्थ, ध्वनि, वाक्य गठन र रूपायन सहितको सार पक्षमा खासै भिन्न नदेखिने प्राच्य भारोपीय (Proto-Indo-European) लोक भाषाको एक हिस्साकै रूपमा रहेको देखिन्छ ।
जनसाङ्ख्यिक स्थानान्तरण र बसाइसराइको क्रमसँगै यो प्राच्य भाषामा अनेकौँ विभाषा वा भाषिकाहरू को उद्भव र विकास हुँदै वर्तमानका विभिन्न भारोपीय भाषाहरू देखा पर्न गए । युरोपमा देखा परेका गोथिक, ल्याटिन, केल्टिक, बल्टिक, ग्रिक र स्लाब भाषाहरू पनि कुनै समयमा प्राच्य भारोपीय भाषाका भाषिकाका रूपमा रहेका थिए । यता पुराना फारसी वैदिक संस्कृत र हिट्टेली (Hittite) हरू पनि एक अर्कामा नजिकका विभाषाका रूपमा रहेका देखिन्छन् । समय क्रममा संस्कृत भाषाको प्रयोगकर्ताहरू इसा पूर्व १२००-१००० सम्म आउँदा यसले वैदिक र पुरानो चरण पार गर्दै शास्त्रीय र आधुनिक चरणतर्फ आएको देखिन्छ ( थोमस बरो, २००१ इ. ‘दि संस्कृत लेङ्गोएज’) ।
ऐतिहासिक युगको लेनदेनलाई मध्य युग अघि मध्य युगमा र पुनर्जागरणको युगमा भएको व्यापार र राज्य विस्तारका अभियानसँगै हुन गएको भाषिक सांस्कृतिक प्रसारणलाई जनाउँछ । प्रागैतिहासिक कालमा संस्कृत भाषाको प्रसारण के कति भयो भन्न सकिने प्रमाणहरू पर्याप्त छैनन् । मध्य युग अघि भएको प्रसारण पनि पर्याप्त प्रमाण सहित पाउन सकिएको छैन । तर पुनर्जागरण पछि ब्रिटिस उपनिवेश राज्यहरूमा अङ्ग्रेजीसँगै उप तहकारुपमा संस्कृतको पनि प्रसार हुन पुगेको देखिन्छ ।
संस्कृत भाषामा पाइने कतिपय धातु र शब्दहरू दक्षिण एसिय, दक्षिण पूर्व एसिया, मध्य एसिया, युरोप र अफ्रिकाका कतिपय क्षेत्रमा बोलिने विभिन्न भाषाहरूमा पनि पाइने गरेकोले कतिपय विद्वानहरू संस्कृतलाई आदर गरेर विश्व भाषाको जननिका रूपमा हेर्ने गर्दछन् । तर हालैको भाषा वैज्ञानिक अध्ययनले के देखाएको छ भने संस्कृतको मूल प्रभावबाट निसृत भई देखा परेका भनी मानिएका ९९ भाषा बाहेक अन्य भाषाहरू भने संस्कृत मूलबाटै उत्पन्न नभईकन भिन्न शाखा वा परिवारसँग सम्बन्धित रहेको पाइन्छ । खासगरी दक्षिण एसियामा रहेका भारोपेली परिवारका भाषाहरू र त्यसमा पनि आर्येली शाखाका भाषाहरूमा संस्कृतको जबरजस्त प्रभाव छ । तर यहाँका अन्य भाषिक परिवारसँग सम्बन्धित भाषाहरूमा संस्कृतका शब्दहरू बाक्लै रूपमा पाइए तापनि ती भाषाहरू संस्कृतबाट नै उत्पन्न भएका हुन भनेर भन्ने भाषा वैज्ञानिक आधार पाइँदैन । हाल नेपालमा आग्नेली, द्रविडियन, भारोपेली, भोटबर्मेली र कुसुण्डा गरी पाँच परिवारका जम्मा १२४ भाषाहरू बोलिन्छन् (राष्ट्रिय भाषा आयोग, २०८०) ।
संस्कृत मूल रहेको भारत आर्येली (Indo-Aryan) भाषा परिवार बाहिर पर्ने दक्षिण पूर्व एसिया र युरोपका भाषा भाषिका भित्र संस्कृतसँग समान रहेका धातु र शब्दहरू पाइनुको मूल कारण के होला? यसरी हेर्दा कुनै दुई भाषा बिचको समानता कि त समान परिवारमा उत्पत्तिका कारणबाट हुन जान्छ, कि त भाषिक सांस्कृतिक प्रसारणका कारणबाट त्यसो हुन जान्छ । यसरी हेर्दा हालको म्यानमार, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया देखि कम्बोडिया सम्मको संस्कृत प्रभाव भारतको मौर्य साम्राज्यको विस्तार यताको परिघटनाका रूपमा लिन सकिन्छ । ग्रिक र ल्याटिन भाषाको प्रभाव क्षेत्रमा देखा परेको संस्कृत अस्तित्व भने सम्भवतः भारतको उत्तर पश्चिमी प्रदेशहरूबाट त्यतातर्फ हुने गरेको प्राचीन कालको व्यापार र विनिमयका कारण भएको हुन सक्दछ । उदाहरणका रूपमा हालको सिन्ध नदी बेँसीमा रहेका एक प्राचीन व्यापारिक सहर मेलुहाहा (Meluḫḫa) र प्राचीन मेसोपोटामिया बिच इशापूर्व २३३४ र २२७९ बिच भएका व्यापारलाई लिन सकिन्छ ( अस्को पार्पोला र अरु, २०१६ इ., पृ.१३०’दि मेलुहाहा भिलेज’).
यसरी व्यापारको माध्यमबाट हुन गएको सांस्कृतिक प्रसारणका (cultural diffusion) कारण भाषाहरूमा देखिन पुगेका कतिपय समानताका पक्षहरूको यो एउटा उदाहरण हो । अर्कोतर्फ दक्षिण भारतीय संस्कृतिद्वारा दक्षिण पूर्व एसियामा पारेको प्रभाव सिंगापुरको भाषिक बनोट र कम्बोडिया स्थित नोमपेन अंकोरवाटको मन्दिर मात्र हैन दक्षिण भारतीय भाषाको कोरियाली भाषामा पर्न गएको प्राचीन प्रभाव पनि अन्वेषणमय विषय रहेको छ । यस्तो व्यापारका माध्यमबाट हुने भाषिक लेनदेन प्रागैतिहासिक र ऐतिहासिक युगहरूमा बाँडेर हेर्न सकिन्छ । ऐतिहासिक युगको लेनदेनलाई मध्य युग अघि मध्य युगमा र पुनर्जागरणको युगमा भएको व्यापार र राज्य विस्तारका अभियानसँगै हुन गएको भाषिक सांस्कृतिक प्रसारणलाई जनाउँछ । प्रागैतिहासिक कालमा संस्कृत भाषाको प्रसारण के कति भयो भन्न सकिने प्रमाणहरू पर्याप्त छैनन् । मध्य युग अघि भएको प्रसारण पनि पर्याप्त प्रमाण सहित पाउन सकिएको छैन । तर पुनर्जागरण पछि ब्रिटिस उपनिवेश राज्यहरूमा अङ्ग्रेजीसँगै उप तहकारुपमा संस्कृतको पनि प्रसार हुन पुगेको देखिन्छ ।
युरोपमा पुनर्जागरणकालीन ग्रिक र ल्याटिन भाषाको पुनरुत्थान भएसँगै अठारौं शताब्दीको उत्तरार्धसम्म आइपुग्दा संस्कृतको अध्ययनले पनि अभूतपूर्व रूप लिइसकेको थियो । (डि. याप्टन, एण्ड कम्पनी, १९०० इ. ‘अ इहिस्ट्रि अफ संस्कृत लिट्रेचर’)
युरोपमा संस्कृत अध्ययनको जग भने भारतमा युरोपेलीको आगमनसँगै भएको देखिन्छ। भारतको भूमि टेकेका स्टेफनस (१५८३) ले प्राकृत भाषाको वर्णन गर्दै कन्नडा भाषाको व्याकरणलाई पोर्चुगेली भाषामा उल्था गरेका थिए । अर्को प्रसङ्ग हेर्दा गोवामा आइपुगेका इटालीका व्यापारी फिलिप सस्सेट्ठीले सन् १५८६ मा उनका मित्र बर्नेण्डो दावान्जातीलाई संस्कृत भाषा र युरोपेली भाषाहरूमा धेरै समानता रहेको भनेर पत्र लेखेका थिए (मजुम्दार २०१७ इ., ‘द हिस्ट्रि एण्ड कल्चर अफ् द इण्डियन पिपुल’) । ब्रिटिस भारतमा मजिस्ट्रेट रहेका विलियम जोनले ‘दि एसियाटिक सोसाइटी’ मा संस्कृत भाषाका बारेमा दिएको सन् १७८० को भाषणबाट दक्षिण एसिया बाहिर खासगरी युरोप लगायत विश्वका विभिन्न क्षेत्रमा संस्कृतको प्रचार प्रसार भएको देखिन्छ ।
यसअघि उल्लेखित भाषिक प्रसारण मातृभाषी समूहको बसाइसराइ नभईकन व्यापार र अन्य राजनीतिक सांस्कृतिक कारणबाट भएको मान्नु पर्दछ । जब मातृभाषी समूहकै बसाइसराइ हुन जान्छ त्यो अवस्थामा कुनै दुई भाषाका बिचमा देखिने समानता लाई भाषाको अनुवांशिक सम्बन्धका रूपमा हेर्ने गरिन्छ । भारोपेली परिवार भित्र पर्ने भाषाहरू संस्कृतसँग सिधै अनुवांशिक सम्बन्ध भएका हुने नै भए । दक्षिण एसियाली भूभागमा प्रचलनमा रहेका भारोपेली भाषाहरू संस्कृतसँग आनुवांशिक रूपमै निकट हुने नै भए तर दक्षिण एसिया बाहिर पनि इरानेली, स्लाव र बाल्टिक परिवारका भाषाहरू संस्कृतसँग धेरै नजिक रहेका देखिन्छन् । यो आलेख भने संस्कृतको प्राच्य स्वरूपसँग सदृश लिथुआनियाली भाषाको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ ।
लिथुआनियाली भाषा भारोपेली परिवार अन्तर्गत बाल्टोस्लाबिक मूल शाखाको उपशाखा अर्थात् बाल्टिक परिवारको भाषा हो। बाल्टिक परिवार भित्र पनि पुरानो प्रुसियाली, लातभियाली र लिथुआनियाली गरी तीन वटा मूल भाषा र दर्जनौँ कोशिकाहरू छन् ।
युरोप खण्डमा बोलिने भारोपेली परिवारका भित्रका भाषाहरू र संस्कृत बिच गरिएको तुलनात्मक भाषा विज्ञानको अध्ययनले थुप्रै समानताका पक्षहरू देखाएका छन् । जसमा वैदिक संस्कृत र लिथुआनियाली भाषा बिचको समानताको पक्ष भने गाढा र विशिष्ट रहेको छ । जर्मन भाषा वैज्ञानिक फ्रेन्च बप (१८८५) ले संस्कृत ल्याटिन ग्रिक गोथिक जिन्द लिथुआनियाली र स्लबोनिक लगायतका भाषाहरूको व्याकरणको तुलनात्मक अध्ययन गरेसँगै लिथुआनियाली भाषा र संस्कृतको बिच बहु आयामिक समानता रहेको देखियो । बपको अध्ययन पछि लिथुआनियामा संस्कृत र लिथुआनियाली भाषा बिचको समानताबारे अतिशयोक्तिपूर्ण वर्णनहरू भएको पाइन्छ । उदाहरणका रूपमा संस्कृत भाषाप्रतिको रोमान्टिक आकर्षणको परिणाम स्वरूप लिथुआनियाली समाजमा “भारतीय र लिथुआनियाली बिच कुरा गर्न दोभासे नै चाहिँदैन” भनी एक खाले मानिसहरू भन्ने गर्दथे । (वितिस वीदुनस, २०१६ पृ २१, ‘संस्कृतलितुवीयमाला’ )
लिथुआनियाली बुद्धिजीवीहरूमा संस्कृतको आकर्षण र यसको लिथुआनियाली भाषासँगको समानताको आकर्षणले एक जना व्याकरणविद् काजीमिरस अम्ब्रोजाइतीस जो एक जना पुजारी र शिक्षाविद् पनि थिए उनले सन् १९२९ मा ‘काल्बोज संस्कृत’ अर्थात् ‘भाषा संस्कृत’ नाम राखेर एउटा व्याकरणको पुस्तक प्रकाशित गरेका थिए । (जबसकैते, २०१६ पृ ७, ‘संस्कृतलितुवीयमाला’ ) त्यसैगरी, यस लेखकसँगको कुराकानीमा एक जना लिथुआनियाली प्राध्यापकले सन २०१६ मा भिलिनसमा भनेकी थिइन “कतिपय लिथुआनियालीहरू उनीहरूका पुर्खा भारतको गङ्गा नदीको किनारबाट लिथुआनिया आएका हुन् भन्ने भनी ठान्दछन्।” कतिपयको त खासमा ‘ शुद्ध संस्कृत चाहिँ लिथुआनियाली भाषा हो, भारतमा गएर त्यहाँका अन्य भाषा मिसिनाले संस्कृत बिटुलो भयो’ भन्ने भनाइहरू समेत पाइन्छ ।
यी त भए भावनात्मक कुराहरू तर भाषा वैज्ञानिक अध्ययनले के देखाएको छ भने लिथुआनियाली भाषालाई युरोप खण्डको सारै पुरानो भाषा हुनाका कारण ‘फोसिल लेङ्गोएज’ अर्थात् ‘जीवाश्म भाषा’ भनी कतिपय सन्दर्भमा भनिएको पाइन्छ । हुन पनि संस्कृत र लिथुआनियाली भाषाको तुलनात्मक अध्ययनले के देखाउँछ भने यो भाषामा प्राच्य भारोपेली धातुसँग प्रचुर मात्रामा मेल खाने धातुहरू सहित केवल संस्कृतमा मात्र पाइएको भनिएका धातु र प्रातिपदिकहरू पनि करिब छ सय जतिका हाराहारीमा सुरक्षित रहेको पाइन्छ । अर्कोतर्फ लिथुआनियाली भाषा पनि संस्कृतझैँ कर्ता, कर्म, र क्रिया शब्दहरू वाक्य निर्माणमा स्वतन्त्र छन् । भविष्यत्काल जनाउने स मध्य सर्ग वा पद लिथुआनियाली भाषामा पनि सुरक्षित छ । यहाँ उदाहरणहरूमा केवल संस्कृत र लिथुआनियाली भाषामा मात्र पाइने अरू भाषामा नदेखिएका केही प्रतिनिधिमूलक समान धातु र प्रातिपदिकहरू प्रस्तुत गरिएको छ ।
“संस्. ‘कुच’, लिथु. ‘क्रूत’ अर्थ ‘स्तन’; संस्. ‘अश्रु’, लिथु. ‘अश्र’, अर्थ आँसु; संस्. ‘हृद’, लिथु. ‘शिर्द’ अर्थ मुटु; संस्. ‘तात’, लिथु. ‘तेते’ अर्थ बुबा; संस्. ‘पति’, लिथु. ‘पतिनस’, अर्थ लोग्ने वा पति संस्. ‘पशुः’, लिथु. ‘पेकुस’, अर्थ जनावर; संस्. ‘अश्व’, लिथु. ‘अश्व’, अर्थ घोडा, संस्. ‘अज’, लिथु. ‘ओज’ अर्थ ‘बाख्रा’; सं. ‘अविस’, लिथु. ‘अविस’ अर्थ भेडा; संस्. ‘श्वन्’, लिथु. ‘शुओ’ अर्थ कुकुर; संस्. ‘वृक’, लिथु. ‘विल्क’ अर्थ ब्वाँसो; ‘यव’, लिथु. ‘यव’ अर्थ जौ; संस्. ‘भूर्ज’ लिथु. ‘बेर्ज’ अर्थ भोजपत्रको वृक्ष; संस्. ‘शाखा’, लिथु. ‘शाका’ अर्थ हाँगा । संस्. ‘मधु’, लिथु. ‘मेदुस’ अर्थ मह; संस्. ‘उर्णा’, लिथु. ‘विल्न्’ अर्थ उन । संस्. ‘दक्षिण’, लिथु. ‘देशिन’ अर्थ दाहिने; संस्. ‘अश्म’, लिथु. ‘अक्म’ अर्थ ढुङ्गो; संस्. ‘धूलि’, लिथु, ‘दुल्क’ अर्थ धुलो । संस्. ‘वायु’, लिथु. ‘वेय’ अर्थ हावा; संस्. ‘स्रु’, लिथु. ‘स्रू’ अर्थ बहनु; संस्’ ‘हिम’, लिथु. ‘जिएम’ अर्थ हिउँद; संस्. ‘उषा’, लिथु. ‘अउश’/ ‘अउशरा’ विहानी । संस्. ‘नक्त’, लिथु. ‘नपत’ अर्थ रात्री; संस्. ‘तमस्’, लिथु. ‘तम्स’ अर्थ अन्धकार ।”
उदाहरणका रूपमा उल्लेख गरिएका केही यी धातु र प्रातिपदिकहरू र अर्थ र ध्वनिका दृष्टिबाट प्राच्यभारोपेली भाषा भन्दा पर गएर स्वतन्त्र रूपमा केवल यी दुई भाषामा मात्र मिल्ने गरी समान छन् । यसरी यी दुई भाषाहरू बिच अरू भाषा भन्दा भिन्न ढङ्गले अनौठो रूपमा एकातिर यति ठुलो सङ्ख्यामा धातु र प्रातिपदिकहरू मिल्नु तर अर्कापट्टि करिब साढे पाँच हजार किलोमिटर टाढाका भूगोलमा यी दुई भाषाहरूको व्यवहार गरिने क्षेत्र रहेको हुनु ले कसरी यतिको समानता सम्भव भएको होला भन्ने जबरजस्त प्रश्न रहेको छ । फेरि पनि यो तथ्यले यी दुई भाषा बोल्ने वा मूल रूपमा प्रयोग गर्ने जातिका पुर्खाहरू बिच प्रागैतिहासिक कालिन अनुवांशिक सम्बन्ध रहेको पुष्टि गर्दछ । दक्षिण पूर्व युरोप देखि मध्य एसिया सम्मको भूभाग अर्थात् कार्पाथियन र युरालपर्वतमालाका बिचमा कसरी यिनीहरूका पुर्खा प्रागैतिहासिक कालमा सँगै थिए र पछि बसाइ सरेर उत्तर पश्चिम र दक्षिण पूर्व लागे यो क्रमशः अर्को लेखमा ।
स्रोत : डा. रघुनाथ अधिकारी ‘निलमशेखर’/आईएनएस-स्वतन्त्र समाचार
(लेखक मानवशास्त्र र भाषाविज्ञान विषयका अध्येता हुन् । उनले ‘Historical Relationship between Sanskrit and Lithuanian’ विषयमा विद्यावारिधि गरेका छन् । )
प्रतिक्रिया