
सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन् ।
महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।
सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।
पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रस्ट पार्दै उनले महासमितिको अधिवेशनमा नेतृत्वका लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले भने, ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१-८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।’
प्रतिक्रिया