सरकारले भारतबाट अझै ल्याउन सकेन चिनी, फेरि बजारमा हाहाकार

मूल्यमा कुरा नमिलेका कारण  भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ। चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता  गजेन्द्रकुमार ठाकुरले  भारतबाट चिनी तत्काल नल्याउने बताए। चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उनको भनाइ छ। प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ।

“त्यो चिनी खरिद गरी  भन्सार  तिरेर  नेपाल  ल्याउँदा  उपभोक्ताले  प्रतिकेजी एक सयभन्दा माथि तिर्नुपर्छ। भारतबाट ल्याउने भनेको चिनी  अहिले तत्काल नआउने  लगभग निश्चित भएको छ। आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै  चुलिएको छ।  साल्ट  टे«डिङ  कर्पोरेसनले  आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुुई केजीका दरले बिक्री गर्दै आएको छ ।

बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नुपर्छ। सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता अभावको मारमा परेका हुन्। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *