साढे १३ हजार अमेरिकी डलरसहित विमानस्थलबाट पोल्यान्डकी महिला पक्राउ
१८ मंसिर २०८० १८:३८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए ।
उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी ती महिलालाई विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।
प्रतिक्रिया