हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर हिमालयन रिइन्स्योरेन्सले किन्ने
हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक शेयर हिमालयन रिइन्स्योरेन्सले किन्ने भएको छ । हिमालयन बैंकको सञ्चालक समितिले हिमालयन रि–इन्स्योरेन्सलाई हबिबको शेयर बिक्री दिने सिफारिस गरेको छ।
हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो। मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत शेयर स्वामित्व थियो।
सिभिललाई प्रतिशेयर ८१ रूपैयाँ हाराहारीमा गाभेपछि हबिबको शेयर स्वामित्व साढे ११ प्रतिशत हाराहारीमा खुम्चिएको छ। यही शेयर हिमालयन रिइन्स्योरेन्सले खरिद गर्न लागेको हो। यो भनेको साढे तीन अर्ब रूपैयाँ हाराहारी हो।
हाल प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको हिमालयन रिले उक्त शेयर प्रतिकित्ता १३० रूपैयाँमा किन्न लागेको हो। हिमालयन रिले यसका लागि अनुमति माग गर्दै गत साता मात्रै राष्ट्र बैंकलाई औपचारिक रूपमा पत्र पठाएको छ।
बैंकको संस्थापक शेयर खदिर गर्ने लगानीकर्ता कम्पनीको राष्ट्र बैंकले ‘फिट एण्ड प्रोपर टेस्ट’ गर्छ। यसमा योग्य कम्पनीलाई मात्रै राष्ट्र बैंकले शेयर किन्न अनुमति दिन्छ।
राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्टको प्रक्रिया बढाएको छ। यदि योग्य देखियो भने शेयर खरिदको लागि कम्पनीले अनुमति पाउन सक्नेछ।
देशका ठूला व्यापारिक घराना संस्थापक रहेको हिमालयन रि-इन्स्योरेन्स पछिल्लो समय आफ्नो पोर्टफोलियो बढाउन आक्रामक ढंगले लगानी विस्तारको रणनीति बनाएको छ।
हिमालयन रिमा ग्रोल्छा ग्रुपका प्रमुखसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा अध्यक्ष छन्।
गोल्छा महासंघको अध्यक्ष हुँदा हिमालयन रिले लाइसेन्स पाएको थियो। शंकर ग्रुपका शाहिल अग्रवाल सञ्चालक छन्। यो कम्पनीमा अन्य ठूला व्यापारिक घरानासँगै व्यवसायी दीपक भट्टको पनि लगानी छ।
प्रतिक्रिया