एनसेलले अर्बाै लुट्दा पनि किन मौन छन् शासक र नेता ?

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर कारोबारमा सधैँ झेल हुँदै आएको छ । एनसेलका हरेक सेयर कारोबारमा देशको कानुन र सरकारका नीतिको धज्जी उडाउने गरिएको हो ।

पछिल्लोपटक एनसेलमा मलेसियन कम्पनी आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्न सम्झौता हुँदा नेपालको विद्यमान कानुनको बर्खिलाप तथा नेपाल सरकारलाई अर्बौं रुपियाँ राजस्व नोक्सान हुने गरी षड्यन्त्र भएको छ। दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ । तर, आजियाटाले स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडलाई सेयर बिक्री गर्ने सम्झौता गर्दा कुनै अनुमति लिएको छैन ।

त्यस्तै, आजियाटाले स्पेक्ट्रलाइट कम्पनीलाई सेयर बिक्री गर्न गरिएको हतकन्डाका कारण नेपाल सरकारलाई अर्बौं रुपियाँ राजस्व नोक्सानी हुने भएको छ । सन् २०१६ मा स्विडेनको टेलिया सोनेरा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटालाई १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोड रुपियाँमा बिक्री गरेको थियो । तर, सन् २०२३ मा उक्त सेयरको मूल्य ९६ दशमलव ३४ प्रतिशतले घटाएर जम्मा ५ करोड डलर अर्थात् ६ अर्ब ६६ करोड रुपियाँमा बिक्री गर्ने सम्झौता भएको छ । वार्षिक करिब ४० अर्ब रुपियाँ नाफा गर्ने कम्पनीले १ खर्ब ३८ अर्ब रुपियाँ घाटा खाएर बिक्री गर्नु रहस्यमय छ । त्यस्तै अर्बौं रुपियाँको कम्पनी खरिद गर्न तयार रहेको स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेड दुई महिनाअगाडि मात्रै दर्ता भएको हो । अत्यन्तै न्यून मूल्यमा सेयर खरिद गर्दा कर छली गर्ने योजना स्पष्ट देखिन्छ ।

एनसेल घाटा गएको, टाटै पल्टिएको भए पनि उसको सम्पत्ति नै अर्बौैं रुपियाँ छ । यसपटकको कारोबारमा कम्पनीको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) नै नगरी हचुवाको भरमा मूल्य तय गरिएको पाइन्छ । पूर्वस्वीकृति, कर चुक्ता प्रमाणपत्र, डीडीएबिना नै खरिद बिक्रीको सम्झौता भएको छ । यसअघि पनि विदेशमा नै कारोबार भए भन्दै टेलियासोनेराले पुँजीगत लाभकर नतिरी हिँडेको थियो । टेलियाका सीईओलगायतका कर्मचारी पुँजीगत लाभ कर नतिरी स्थलमार्ग हुँदै नेपाल छोडेका थिए । पछि अन्तर्राष्ट्रिय अदालत, नेपालको अदालत हुँदै आजियाटाले पुँजीगत लाभकर किस्ताबन्दीमा तिर्न बाध्य भएको थियो।

यसपटकको एनसेलको कारोबारमा अर्को षड्यन्त्र पनि देखिन्छ । एनसेलको २५ वर्षे लाइसेन्स २०८६ भदौ १६ भदौ गते समाप्त हुँदै छ । केही महिनापछि अन्तिमपटक ५ वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ । यहाँ स्मारणीय कुरा के छ भने एनसेलकैै सेयर संरचना यथावत रहे दूरसञ्चार ऐन २०५३ को दफा ३३ अनुसार कुल पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवाको जग्गा, भवन, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ । अहिले नै सेयर स्वामित्व परिवर्तन गरेमा साढे ६ वर्षपछि सरकारीकरण हुने कम्पनी व्यक्तिमा सीमित रहने छ । यो विषयलाई के कुराले पनि पुष्टि गर्दछ भने एनसेलमा स्थानीय साझेदारको रूपमा रहेको सुनिवेरा क्यापिटल भेन्चर प्रालिका भावना सिंह श्रेष्ठ आचार्य स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडका सञ्चालक सतिशलाल आचार्यका श्रीमान् हुन् । यद्यपि, स्पेक्ट्रलाइट कम्पनी यूके लिमिटेडमा आचार्यले आफूलाई सिंगापुरको नागरिकका रूपमा देखाएका छन् । भोलिका दिनमा श्रीमान्को कम्पनीको ३० प्रतिशत सेयर श्रीमतीले खरिद गरेमा एनसेल सरकारको स्वामित्वमा जानबाट रोकिने छ ।

१३८ अर्ब रुपियाँ घाटा खाएर कम्पनी बिक्री गर्दा पनि आजियाटाले एकैपटक पूरै रकम प्राप्त गर्दैन । आजियाटाले सार्वजनिक गरेको तथ्यअनुसार स्पेक्ट्रलाइटले आजियाटालाई छ महिनाभित्र ५० लाख डलर र बाँकी साढे चार करोड डलर सन् २०२७ सम्म तिर्नेछ । साथै एनसेलको व्यवसायबाट हुने नाफा भने कम्पनीको लाइसेन्स रहुन्जेलसम्म अर्थात् २०२९ सम्म नै आजियाटाले प्राप्त गर्ने भनिएको छ ।

बक्यौता शुल्क, फ्रिक्वेन्सी दस्तुर, नवीकरण शुल्क तथा रोयल्टीलगायत गरी स्मार्ट टेलिकमले पुसमा करिब २७ अर्ब रुपियाँ सरकारलाई तिर्नुपथ्र्यो । तर, लाइसेन्स खारेज गरेपछि झण्डै नवीकरणलगायतको शुल्क र अन्य शुल्क गरी २१ अर्ब रुपियाँ राज्यलाई प्रत्यक्ष नोक्सान भएको छ । तर, नियमावली संशोधन गर्दा नयाँ अनुमतिपत्रको दस्तुर, रोयल्टीजस्ता विषयमा खुल्ला छोडिएको छ । राजनीतिक संरक्षणबिना आाजियाटा र आचार्य परिवारको कदम हुन नसक्ने प्राधिकारणका अधिकारीहरू बताउँछन् ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर