कोप-२८ अहिलेसम्मकै सबैभन्दा ठूलो कोप सम्मेलन

असी हजार प्रतिनिधि यूएईमा

कोप-२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसंघको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार सहभागीहरूले पहिलो पटक आबद्धता देखाउने सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।

यस वर्षसम्म भाग लिनेहरूले कसका लागि काम गर्छन् भनेर खुलाउने प्रचलन थिएन । यसले गर्दा पक्षधरहरू पत्ता लगाउन र वार्ताकारहरूको सम्भावित स्वार्थको द्वन्द्व पहिचान गर्न गाह्रो हुन्थ्यो ।

प्राविधिक र सुरक्षा कर्मचारीहरूसहित लगभग एक लाख चार हजार व्यक्तिहरूले यस वर्ष वास्तविक जलवायु वार्ता र उपस्थित राज्य र संगठनहरूको मञ्चका लागि समर्पित ‘ब्ल्यु जोन’ मा पहुँच पाएका छन् ।

गैरसरकारी संस्थाहरूका अनुसार गत वर्ष इजिप्टमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन ‘कोप-२७’ मा ४९ हजार मान्यता प्राप्त व्यक्तिहरू सहभागी भएका थिए, जहाँ तेल र ग्यासको प्रतिनिधिहरूको संख्या अधिकांश राष्ट्रिय प्रतिनिधिमण्डलभन्दा बढी थियो ।

यस वर्ष सम्मेलनमा आधिकारिक सरकारी टोलीका लगभग २३ हजार ५०० प्रतिनिधिहरू सहभागी बनेका छन् ।

उनीहरूसँग २७ हजार २०८ नीति विशेषज्ञहरू, शिक्षाविद्हरू, व्यावसायिक संगठनहरूका प्रतिनिधिहरू र पेट्रोलियम पदार्थसम्बन्धी ठूला कम्पनीका वरिष्ठ अधिकारीहरू सम्मेलनस्थलमा पुगेका छन् ।

यी अतिथिहरूलाई आधिकारिक प्रतिनिधिहरूको रूपमा वार्तामा पहुँचको समान हैसियत छैन, तर उनीहरूको उपस्थितिले वार्तालाई प्रभावित गर्न ठूला व्यवसायको क्षमताको बारेमा चिन्ता बढाएको छ ।

फोर्ब्स पत्रिकाका अनुसार बिल गेट्स र एलभीएमएचका प्रमुख बर्नार्ड अर्नाल्टका छोरा एन्टोनी अर्नाल्ट पनि सम्मेलनमा अतिथिका रूपमा उपस्थित हुनेछन् ।

मान्यता सूचीमा १४ हजारभन्दा बढी गैरसरकारी संस्थाहरू पनि समावेश छन्, जसमा वातावरणीय समूहहरूदेखि औद्योगिक प्रतिनिधिहरूसम्म समावेश छन् ।

गत जुनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जीवाश्म इन्धन कम्पनीहरूले पृथ्वीको जलवायु परिवर्तनलाई नियन्त्रणबाहिर जानबाट रोक्नका लागि ‘प्रगतिमा अड्चन खडा गर्न बनाइएका प्रभाव र कानुनी खतराहरू नियन्त्रण गर्न र रोक्न’ निर्देशन दिएका थिए ।

आयोजकका अनुसार दुबई एक्स्पो-२०२० को प्रदर्शनीस्थलमा आयोजना गरिएको सम्मेलन परिसरको वरिपरि फैलिएको विशाल ‘हरित क्षेत्र’ मा पुग्न एक दिनको पास प्राप्त गर्न लगभग चार लाख व्यक्तिहरूले निवेदन दर्ता गरेका छन्, जुन व्यवसाय र पर्यावरणीय नवीनता प्रदर्शन गर्ने विशाल मेलामा परिणत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *