हात्तीले कुल्चेर वनका चौकीदारको मृत्यु

झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको थियो ।

हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले बताए । उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ । एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो ।

यसैबीच शिवसताक्षी नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति पूर्वबाट जाँदै गरेको प्र१-०१-०१६प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पुरूषको मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ती पैदलयात्रीको उपचारका क्रममा विर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कमल गाउँपालिका-१ का २० वर्षीय सागर तामाङ घाइते भएका छन् । हातमा चोट लागेका चालक तामाङलाई उपचारपश्चात् आज झिलझिले इलाका प्रहरी कार्यालयमा राखेर कानुनी कारबाही सुरू गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *