युद्धविरामको समयसीमा सकिएसँगै इजरायलले गाजामा पुनः सुरू गर्‍याे सैन्य कारबाही

इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरू गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।

‘हमासले जारी विरामको उल्लंघन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ,’ इजरायली सेनाले भनेको छ, ‘आईडीएफ (इजरायली सुरक्षा बल) ले गाजापट्टीमा हमास लडाकु समूहविरूद्ध पुनः लडाइँ सुरू गरेको छ ।’

उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो । सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो ।

गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजरायली लडाकु विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ । युद्धको पुनः सुरूआतले सातदिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धराशायी बनाएको छ ।

सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौं बन्धकलाई रिहा गरिएको थियो । युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले इजरायली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गरेका थिए । साथै उनले युद्धको कुनै पनि सुरूआतले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिए ।

युद्धविरामले अक्टोबर ७ देखि सुरू भएको युद्धलाई रोकेको थियो । हमासका लडाकुहरू गाजाको सैन्यकृत सीमा तोडेर इजरायलमा पसेपछि युद्ध सुरू भएको थियो । इजरायली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकुहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए ।

जवाफमा इजरायलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरू गर्‍याे । हमास सरकारका अनुसार इजरायली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजरायली बन्धकलाई मुक्त गरिएको थियो । इजरायलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो । दुई महिलालाई मुक्त गरिएको केही घण्टापछि रातारात थप छ इजरायलीलाई रिहा गरिएको थियो । ती इजरायलीसँग दोहोरो राष्ट्रियता थियो ।

यसबाट बिहीबार रिहा हुने कुल मानिसको संख्या आठ भएको छ । यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो । हमासको एक निकट स्रोतका अनुसार उसले सातौं खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रूसी-इजरायली महिलालाई गणना गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *