सुर्तीजन्य पदार्थ बेच्ने र सेवन गर्नेलाई जरिवाना गर्दै विराटनगर महानगर

सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले स्थलगत अनुगमन सुरू गरेको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन, २०८० पूर्णतः कार्यान्वयनमा ल्याउन महानगरले अनुगमनलाई तीव्र पारेको हो ।

दसैं, तिहार र छठ पर्वको लामो सार्वजनिक बिदाका कारण महानगरको अनुगमन रोकिएको थियो । महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले जानकारी दिए ।

महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो ।

महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा बिक्री गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारखि ५० हजार रूपैयाँसम्म जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सादा पोसाकमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रूपमा परिचालन गरेको जनाएको छ ।

खैनी, चुरोट, गुट्खासेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताए ।

त्यस्तै सुर्तीजन्य पदार्थका खोल सरसफाइका लागि समेत ठूलो समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौं गुणा बढी रकम खर्च हुने गरेको छ,’ मेयर कोइरालाले भने, ‘यसबाहेक महानगरको सरसफाइमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रूपमा रहेको छ ।’

ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए-नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम-कानुनको अधीनमा रही प्रभावकारी रूपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाइ शाखाका कर्मचारी, जनपद प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर