माथिल्लो अरूण बनाउन वितरण गरियो दुई अर्ब २३ करोड रूपैयाँ मुआब्जा
१४ मंसिर २०८० १८:३९
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजना प्रभावित क्षेत्रमा दुई अर्ब रूपैयाँभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।
आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख रूपैयाँ मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए ।
आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन् ।
उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख रूपैयाँ निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड रूपैयाँ छ । सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरू हुनेछ । काम सुरू भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
पहुँचमार्ग निर्माण सुरू
आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरूङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरूङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ ।
पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ । पहुँचमार्ग भोटखोला गाउँपालिका-४, छोराङदेखि भोटखोला-२, रूकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ ।
प्रतिक्रिया