रिक्सा चालकका दु:ख- न स्वास्थ्यले साथ दियो, न त आम्दानीले
मानिसका संघर्ष गर्ने तरिकाहरू अनेक हुन्छन् । सफल भए सफलताको कथा, नभए असफलताको दुखेसो । जोकोही पनि यसका भागीदार हुन्छन् नै । कुनै काम विशेषले होस् या मनोरञ्जनका लागि एक स्थानबाट अर्को स्थानसम्म पुग्न अहिले कुनै न कुनै साधनको आवश्यकता अपरिहार्य नै बनेको छ । छोटो दूरीको यात्राका लागि अहिले किसिम-किसिमका सवारी साधनहरू पाइन्छ ।
काठमाडाैंका पुराना पुस्ताका मानिसहरूका लागि अहिलेका नयाँ साधनहरू भने अनौठो नै बनेको छ । केही वर्ष पहिला पर्यटक तथा स्थानीय ओसारपसारको मुख्य साधन भनेको रिक्सा नै हुने गर्दथ्यो । काठमाडौं उपत्यकामा मुख्य सवारीका रूपमा चल्ने परम्परागत रिक्सा अहिले पातलिँदै गएको छ ।
केही स्वदेशी तथा विदेशीहरू नेपालका विभिन्न मठमन्दिरको दर्शन वा अवलोकनका क्रममा सवारीसाधन भन्दा रिक्सामा घुम्न रूचाउँछन् । तर दिनको चर्को घाम होस, वर्षायामको झरी यात्रुहरूको गन्तव्य सम्म पुर्याउनका लागि हरबखत तयार रहने रिक्सा चालकको जीवन भने त्यति सहज ढंले नचलेको उनीहरूकै गुनासोबाट प्रस्ट हुन्छ । उनीहरूका आ-आफ्नै कथा र व्यथा हुने गर्दछन् ।
केही वर्ष पहिले रिक्सा चढ्नेहरू प्रशस्त हुन्थे । त्यो समयमा रिक्सा चलाउनेहरूले राम्रै आम्दानी गरेका थिए । पछिल्लो समय सवारी साधनहरूको संख्या बढ्दै गएपछि रिक्साको कमाइ लगभग शून्यजस्तै भएको रिक्सा चालकहरूको गुनासो छ ।
वसन्तपुरमा सधैं मानिसहरूको चहलपहल र भीड हुन्छ । त्यसमाथि त्यहाँ आउने साना गाडी र मोटरसाइकलको चापले रिक्सा गुड्ने ठाउँ नै हुँदैन । अझ ट्राफिक प्रहरीको अत्याचार सहनै नसक्ने रिक्सा चालकले दुखेसो पोख्ने गरेका छन् ।
लामो समयदेखि उपत्यकामा रिक्सा चलाउँदै आउनुभएका स्याङ्जाका पीताम्बर यादव भन्छन्, ‘ट्राफिकहरूले त रिक्सा चलाउनै दिँदैनन्, हेप्ने, अभद्र व्यवहार गर्ने यस्ता दुख हैरानी त दिनहुँ भोग्नु परेको छ । मुख्य सडकमा निस्क्यौं भने त पेसिन्जरहरु नै ओरालिदिन्छन् ।’ ट्राफिकको व्यवहारले गर्दा पनि रिक्सा चलाउन कठिन बन्दै गएको चालकहरूको गुनासो छ ।
काभ्रे जिल्लामा जन्मेर जीवनको ऊर्जाशील समय उपत्यकामा रिक्सा चलाएरै बिताएका मंगल तामाङ छन् । उमेरले उनी ७१ वर्षको भए । वसन्तपुर क्षेत्रमा रिक्सा चलाउँदै आएको ५३ वर्ष भयो । पारिवारिक स्थिति कमजोर भएका कारण बुवा आमाले शिक्षामा लगानी गर्न सकेनन् । सोही कारण आफूले गाउँ छोड्नु परेको तामाङले सुनाए ।
तामाङले आफ्नो विगत सम्झँदै भने, ‘हाम्रो परिवारमा त खान पनि पुग्दैन थियो । बाआमाले पढाउन सक्ने सम्भावना पनि थिएन । आफूले केही गर्न सकिएला कि भनेर १८ वर्षको उमेरमा काठमाडौं आएर कामको खोजी गर्दा रिक्सा चलाउने पेसा नै उत्तम लाग्यो । दुःख-सुख रिक्सा चलाएर यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गर्ने निर्णय लिए ।
सुरूसुरूमा यो पेसा गर्न अफ्ठ्यारो लाग्यो । कसैले देख्छ कि, केही भन्छ कि भन्ने लाग्थ्यो । अफ्ठ्यारो र लाज मान्नु भनेको भोको पर्नु हो भन्ने बुझेपछि निरन्तर काममा लागेको मंगलले बताए । सुरूसुरूमा तामाङलाई बाटोको समस्याले केही समय पिरोल्यो । समय बित्दै जाँदा उनको दैनिकीमा सुधार आएको अनुभव तामाङसँग छ ।
बाटोको समस्या केही हदसम्म समाधान भए पनि भाषाको समस्याले सताउन थाल्यो । विदेशलाई नेपाली भाषा बोल्न आउँदैन, आफू अंग्रेजी फिटिक्कै बोल्न जान्दैनथे । भाषाको समस्याका कारण आएका ग्राहकहरू पनि अरूले नै खोसिदिन्थे । नपढ्दा पनि घाटा हुने रहेछ भन्ने अनुभूति बल्ल थाहा भएको तामाङ बताउँछन् ।
जति नै समस्या भए पनि उनले हार भने मानेनन् । बिस्तारै अरूले बोलेको सुनेर र फाट्टफुट्ट रिक्सा चढेका विदेशीसँग कुराकारी गर्दागर्दै साधारण बोल्न सक्ने भएको मंगलले सुनाए । त्यसपछि उनको आयआर्जनमा सुधार आयो ।
एक जना नेपाली बोक्दा १० देखि २० रूपैयाँ कमाई हुन्थ्यो । विदेशी बोक्दा भने खुसी भएर ५० रूपैयाँ दिन्थे । काम गर्न त सुरूआती समयमा नै सजिलो अहिले भने त्यति काम पनि पाइँदैन । मुहारमा अँध्यारो पार्दै तामाङले दुःख बिसाए । ‘गरिबलाई दैवले पनि ठग्दो रहेछ,’ तामाङ भन्छन् । ‘जन्मजातै मेरो दाहिने खुट्टा सानो थियो । त्यही भएर हिँड्न पनि कठिन हुन्छ । सायद धेरै धुवाँ-धुलोमा बसेर पनि होला अहिले शरीर दुख्ने, टाउको दुख्ने बढी हुन थालेको छ,’ उनी भन्छन् ।
रिक्सा चलाएरै परिवारको जिम्मेवारी पूरा गरेका तामाङलाई आफ्नो छोरीको भविष्यको भने ठूलो चिन्ता छ । ‘छोरीलाई राम्रो विद्यालय त पढाउन सकिएन तर सकभर बाँच्ने आधारसम्म बनाउन सकेको छु,’ यति भन्दै मंगलले आँसु खसाले ।
‘छोरीको भविष्यको चिन्ताले मलाई छटपटी हुन्छ । देशमा केही गरौं भन्दा रोजगारीको अभाव छ । विदेश पठाउन रिक्सा चलाएको पैसाले पुग्दैन । दैनिक पाँच सयदेखि एक हजारसम्म कमाइ गर्न सकिने मंगल बताउँछन् । अझै पनि शरीरले धान्न सके पाँच वर्ष यही पेसामा बिताउने उनको अठोट छ ।
त्यस्तै अर्का रिक्सा चालक छन्, रामेछापका शरणबहादुर थापामगर । ५६ वर्षीय थापामगर विगत ३९ वर्षदेखि रिक्सा चलाउने पेसामा आबद्ध छन् । १७ वर्षको उमेरदेखि वसन्तपुर क्षेत्रमा सो पेसामा लागेका थापामगर भन्छन्, ‘यो रिक्सा भाडाको हो नि, १५० रूपैयाँ दैनिक रिक्सा साहुलाई बुझाउनुपर्छ । कमाइ होस् या नहोस् ।’
दैनिक रूपमा करिब एक हजार कमाइ हुन्छ । सधैं उत्तिकै कमाइ भने हुँदैन । महँगीले पिरोल्ने उनको भनाइ छ ।
‘दुई छोरा र दुई छोरीलाई यही रिक्सा चलाएरै पढाउन सफल भएको छु,’ थापामगरले रिक्सा चलाउने क्रममा नै प्यारालाइसिस रोगको सिकार भएको सुनाउँदै भने ।
‘रिक्सा चलाउँदै थिएँ । एक्कासि मुटु चसक्क भयो । अलिक समयपछि त हातखुट्टा नै चल्न छोडेर जमिनमा बजारिन पुगेछु । धन्न चिने-जानेका आफन्तले अस्पताल समयमै पुर्याइदिए र यत्तिको भएँ,’ लामो श्वास फेर्दै मगरले विगत सुनाए ।
प्यारालाइसिसले चार वर्षसम्म हातखुट्टा चलेन । सो समय निकै पीडा भयो । जीवन त्यागेको भए सजिलो हुन्थ्यो । आफ्ना शरीरको अंगहरू अरूले चलाइदिने, खुवाइदिने, दिसा-पिसाब छोराछोरीले गराउनुपर्दा निकै कष्ट हुने रहेछ ।’
औषधिको सहायताले अलिकति राहत मिलेपछि उनी हिँड्न-डुल्न सक्ने भए र पुनः रिक्सा चलाउन थाले । ग्राहक लिएर जाँदै गर्दा मगर पुनः दोस्रो पटक प्यारालाइसिसको सिकार बने । ‘शरीरको दाहिने भाग हलचल गर्न नसक्ने अवस्थामा पुगेर पूर्ण जमिनमा पछारिएपछि बेहोस भएछु । होसमा आउँदा अस्पतालको बेडमा रहेछु,’ मगरले दुखेसो पोखे ।
दुई पटक प्यारालाइसिसका सिकार भएका थापामगरलाई पुनः रिक्सा चलाउन आएको भन्दै प्रश्न गरेपछि मगरले मलिन हुँदै भने, ‘आफूले गर्न सकुन्जेल मात्रै सबै आफ्ना हुने रहेछन् । पापी पेट पाल्न पर्याे, काम गर्नै पर्याे । यी सबै त्यसैका लागि गर्दैछु ।’
बिरामी भएको शरीर बोकेर यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम भने थापामगरका लागि त्यति सजिलो छैन । पुन: सोही रोगले नसताउला भन्न सकिन्न । मगरलाई सो कुराको डर पनि छ । हात-मुख जोर्नका लागि दुःख गरिरहेका शरणबहादुर भन्छन्, ‘नेपाली पुराना साधनहरूबाट विदेशीहरूलाई मोहित बनाएर कमाइ गर्न सके राम्रो आम्दानी हुन्छ । सरकारले यस्ता पुराना सामाग्रीहरूको संरक्षण र प्रवर्द्धन गर्न सके केही हदसम्म रोजगारी सिर्जना हुन्थ्यो भने कतिपयले आफ्नो जीवन गुजारा गर्न सक्ने थिए ।’
प्रतिक्रिया