दुर्गममा बस्नै चाहँदैनन् कर्मचारी, कालीकोटका नौवटै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छ वटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन । स्थानीय तह सञ्चालन ऐनमा नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि सोअनुसार त्यहाँका स्थानीय तहमा हुन नसकेको हो ।

स्थानीय तह सञ्चालन आएदेखि तिलागुफा नगरपालिकाले एकपटक प्रमुख प्रशासकीय अधिकृत दरबन्दीअनुसार उपसचिव उद्धव रिजाल आउनुभए पनि छोटो समयमै सरूवा भए । अहिले त्यहाँ अधिकृतस्तरको कर्मचारी लालबहादुर मल्ल प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेका छन् । खाडाचक्र नगरपालिकामा जिल्ला विकास समितिका छैटौँ तहका कर्मचारी प्रवलजङ शाहीले जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

रास्कोट नगरपालिकाले पशु सेवातर्फका सातौँ तहका प्राविधिक जवानसिंह बम विगत पाँच वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी निभाइरहेका छन् । सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु सेवातर्फका पाँचौँ तहका प्राविधिक नेत्रबहादुर शाही कार्यालय प्रमुख भएर काम गरिरहेका छन् ।

पलाँता, नरहरिनाथ, महाँवै र शुभकालिका गाउँपालिकामा पनि पाँचौँ तहका कर्मचारीले कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारी पनि खासै दुर्गममा बस्न नचाहने समस्याका कारण कार्यालयहरू प्रमुखविहीन बनेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

‘मन्त्रालयमा दरबन्दअनुसारका कार्यालय प्रमुखका लागि पटक–पटक ताकेता गरे पनि कोही आउन मान्नुहुन्न,’ उनले भने, ‘यहाँ काम गर्नका निमित्त नतोकी स्थानीय तहको काम गर्न सकिन्न ।’

स्थानीय तहमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको त्यसका लागि मन्त्रालयसँग माग गर्दा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको भनाइ छ ।

‘हामी दरबन्दीअनुसारको कर्मचारी चाहियो भनेर प्रदेश र सङ्घमा धाइरहेका छाैँ,’ उनले भने, ‘तर सोअनुसारको कर्मचारीको पदपूर्ति नै भएको छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *