संरक्षण अभावमा पुरिँदै जाखोर ताल

कैलालीको धनगढी उपमहानगरपालिका-७, देवरिया उद्यानभित्र रहेको जाखोर ताल संरक्षणको अभावमा पुरिँदै गएको छ । नगरभित्रै रहेको महत्त्वपूर्ण पर्यटकीय तालको संरक्षण र संवर्द्धनमा हुन नसक्दा ताल क्षेत्र बर्सेनि पुरिँदै गएको हो । सो उद्यान जैविक विविधताले भरिएको पर्यटकीय क्षेत्र हो ।

वनस्पतिको विविधताका दृष्टिले समेत अति महत्त्वपूर्ण मानिने जाखोर ताल झण्डै एक सय ४९ दशमलव पाँच हेक्टर क्षेत्रमा फैलिएको सो स्थानमा चार थरिका रैथाने कमल, एक सय ५० थरिका जलीय वनस्पतिका प्रजाति पाइन्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण जाखोर तालको संरक्षणमा ध्यान नगए पनि घुमघाम गर्न जाने र रमणीय दृश्यावलोकन गर्ने वातावरण बन्दै गएको स्थानीय दीर्घ जोशीले बताए ।

जाखोर ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके त्यसबाट आर्थिक लाभ पनि गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । जाखोर ताल क्षेत्रमा देवहरिया वनस्पति उद्यानको नाममा वनस्पति कार्यालय कैलालीले बर्सेनि लाखौँ रकम खर्च गर्दै आएको छ ।

कार्यालयले सो क्षेत्रको जडीबुटी सङ्कलन गरी आम्दानी गर्दै आएको छ । वनस्पति उद्यान केन्द्र धनगढी कैलालीका प्रमुख गङ्गादत्त भट्टले तालमा जलकुम्भी हटाइएको बताए । वनस्पति उद्यान परिसरमा रहेको बगैँचाको घाँस सफा गर्ने, बिरूवामा मल हाल्ने काम अघि बढाएको जनाउँदै कार्यालय प्रमुख भट्टले तालमा रहेको जलकुम्भी हटाएर जैिवक विविधता कायम राखेको उनले बताए ।

विसं २०५६ मा मन्त्रिपरिषद्को निर्णयबाट वनस्पति विभागलाई हस्तान्तरण गरेको देवहरियामा दैनिक पाँच सय स्थानीय पर्यटक आउने गरेको प्रमुख भट्टले बताए । उनले नेपालमा तीन प्रजातिका रैथाने जङ्गली धानमध्ये सो ताल क्षेत्रमा दुई प्रजातिका जङ्गली धान पाइने गरेको बताउँदै पर्यावरणीय हिसाबका दृष्टिले उपयुक्त ठाउँ भएका कारण चराको बासस्थान पनि रहेको जानकारी दिए ।

‘अध्ययन, अनुसन्धान पर्यटन मनोरञ्जन गर्ने थलोका रूपमा विकास हुन थालेको छ,’ उनले भने, ‘म्युजियम र हरबेरियमको स्थापना गर्न सके विद्यार्थीका लागी राम्रो र सुदूरपश्चिमका सम्पूर्ण वनस्पतिको पहिचान गर्न सकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *