नेपाली चलचित्रमा बढ्दैछ नयाँ पुस्ताको आकर्षण
नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् ।
अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो । उनीहरूको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ ।
प्रदीप खड्का, अनमोल केसी, सलिनमान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ पुस्ताका कलाकार नेपाली चलचित्र क्षेत्रमा भित्रिएका छन् । उनीहरू निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरूको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ ।
व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् ।
‘नाइँ नभन्नु ल-६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे । व्यावसायिक रूपमा उनको सुरूआत सफल नभए पनि सम्भावना बोकेको कलाकारका रूपमा हेरियो ।
यही मङ्सिरको अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘दुई कदम’ बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरूआत गर्दै छन् ।
अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’ मा अन्तिम वर्षमा अध्ययनरत छन् । उनले आफ्नो सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए ।
‘डर, उत्साह, खुसी एकै पटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु’, अभिनेता लिम्बूले भने, ‘पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ । सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रूपमा प्रयोग गर्ने कोसिस गरेको छु ।’
उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरूआत गर्दै छन् । दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताइन् ।
‘मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ’, अभिनेत्री बुढाथोकीले भनिन्, ‘अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।’
पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’ मार्फत् सन्तोष अधिकारीले पनि अभिनय सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरूआत गरेको बताए । ‘मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरेँ,’ अभिनेता अधिकारीले भने ।
निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँ पुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए ।
‘नयाँ पुस्ताले चलचित्रको विभिन्न विधामा रूचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनीहरूको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ’, निर्देशक झाले भने ।
पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए । उनले चलचित्रमा नयाँ अनुहारको आवश्यकता रहेको बताए ।
प्रतिक्रिया