नेपालबाट इन्डोनेसिया भ्रमणमा जान स्टिकर भिसा अनिवार्य
नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई-भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।
दूतावासले एक सर्कुलर जारी गर्दै भिसासम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ ।
ई-भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई-भिसाका लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन अराइभलका लागि पहल भई राखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराए ।
प्रतिक्रिया