प्रधानसेनापति शर्मा र भारतीय एनसीसीको टोलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको भारतको नेशनल क्याडेट कोर (एनसीसी) को प्रतिनिधिमण्डलले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेको छ।

प्रतिनिधिमण्डलले मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापतिसँग भेट गरेको हो।

त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले युथ एक्सचेञ्ज प्रोग्राम (वाईईपी) का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकामा आभार प्रकट गर्दै प्रधानसेनापतिसमक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए।

मंसिर ५ गते नेपाल आइपुगेको भारतीय एनसीसीको टोली मंसिर १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। वाईईपीमा भारतीय एनसीसीका छात्रछात्राहरू १६ जना र राष्ट्रिय सेवा दल, नेपालका छात्रछात्राहरू ४ जना सहभागी छन्।

नेपालमा वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो।

आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६,७७६ जना छात्रछात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन्। यस वर्ष उक्त तालिममा ७,७०४ जना छात्रछात्राहरू सहभागी छन्।

वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल वाईईपीमा सहभागी हुँदै आएको छ भने वि.सं.२०५६ सालबाट नेपालमै वाईईपी आयोजना गर्न थालिएको हो। यस कार्यक्रमअन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुरलगायतका देशहरूमा ४२३ जना क्याडेट छात्रछात्राहरूले भ्रमण गरिसकेका छन्।

यसपटक नेपाल भ्रमणमा आएको भारतीय टोलीले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा सहभागी हुनुका साथै काठमाडौं उपत्यका र वरपरका इलाकाहरूको भ्रमण गरेको थियो। जंगी अड्डामा आज आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीहरू, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशकलगायत वाईईपीमा सहभागी दुवै देशका छात्रछात्राहरूको उपस्थिति थियो।

त्यस अवसरमा एनसीसी क्याडेटहरूसँग कुराकानी गर्दै प्रधानसेनापतिले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई सुमधुर बनाइराख्न यस किसिमको एक्सचेञ्ज प्रोग्रामले पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *