उर्लाबारी आगलागी : मृत्यु हुनेको संख्या ५ पुग्यो

मोरङकाे उर्लाबारीमा लक्ष्मीपूजाको राति भएकाे आगलागी घटनामा परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।  उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।
कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।

मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार रामनरेश मरितासहित हालसम्म पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।

यसअघि उर्लाबारी ७ कै  ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै  उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको डिएसपी दाहालले जानकारी दिए।

लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो। त्यसक्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्धारका लागि खटिएका प्रहरी र २४ स्थानीय सहित २८ जना घाइते भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर