काठमाडौंका सडक र नदी किनारामा आगो बाले १५ हजारसम्म जरिवाना हुने

काठमाडौं महानगरपालिकाले अबदेखि सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ। सडक र नदी किनारामा आगो बालेको भेटिएमा महानगरपालिकाले १५ हजार रुपियाँसम्म जरिवाना तिराउने भएको छ।

जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बालेर वायु प्रदूषण गर्ने काम बढी हुने भएकाले त्यस्तो क्रियाकलाम रोक्न कामपा वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन लागेको हो। कारबाहीमा परेर पनि अटेर गरी पटकपटक आगो बाले १ लाख रुपियाँसम्म पनि जरिवाना तिराउने कामपाले जनाएको छ ।

राजधानीमा जाडो बढेसँगै सडक बालबालिका र नदी किनारामा बसोबास गर्नेहरूले सडक र नदी किनारामा फोहोर थुपारेर आगो ताप्ने गरेका छन् । फोहोरबाट निस्कने धुँवाले वायु प्रदूषण बढ्ने जिकिर गर्दै कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले राजधानीको वायु प्रदूषणमा गम्भीर असर पर्न नदिन आगो बाल्नेमाथि कारबाही गर्न लागेको जानकारी दिए।

उनले भने– ‘राजधानी सफाइ अभियानअन्तर्गत फोहोर जलाउन बन्द गर्न लागेका हौं। त्यसका लागि कामपाले महानगर प्रहरी टोली खोला किनारामा खटाउन थालेको छ ।’ विभागले विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका राजधानीमित्र रहेका खोलाको पुलमुनिको सडक किनारामा अनुगमन शुरू गरेको जानकारी दिँदै विभागीय प्रमुख श्रेष्ठले भने– ‘विभागले शुरूमा फोहोर संकलन गर्ने क्षेत्रमा अनुगमन गर्नेछ, त्यसपछि सडक किनारामा अनुगमन थाल्नेछ ।’

यसैबीच फोहोर बाल्न रोकेर नदी किनारामा विशेष सफाइ अभियान शुरू गरेदेखि महानगरको फोहोरको परिमाण ह्वात्तै बढेर दैनिक ७ सय टन फोहर संकलन हुन थालेको छ। यसअघि महानगरभित्र दैनिक ६ सय टन फोहोर संकलन हुने गरेको थियो। राजधानीभित्र बग्ने सबै नदी किनार सफाइ गर्ने योजना बनाएको विभागले विष्णुमती पुल परिसरमा सफाइ सकेको र अब अन्य पुल सफाइ थाल्न लागिएको जनाएको छ । कामपाले ३ सय नयाँ कर्मचारी करारमा लिएर व्यापक सफाइ शुरू गरेको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *