महसुल नतिरेपछि स्वास्थ्य मन्त्रालयको विद्युत काटियो

नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयकाे विद्युत लाइन कटौती गरेकाे छ। स्वास्थ्य मन्त्रालयको नाममा बुटबलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण, लमही शाखाले जनाएको छ।

कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ।

सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवारी नभएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कटौती गर्नुपरेको दावी रावतको छ।

‘बुटवल कार्यालयबाट पटकपटक पत्राचार भए अनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुपर्‍याे’, उनले भने, ‘यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन। बुटवलको रकम नतिर्दा यहाँबाट विजुली काट्नुपर्‍याे।’

राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत काटिएको हो। हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित छ। बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैरसरकारी संस्थाको कार्यालय रहेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले भने बिना जानकारी बिजुली काटिएको बताए। ‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियाे। पैसा नतिर्ने भन्ने हुन्‍न । महसुल भुक्तानीकाे लागि काम हुँदै छ’, उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर