पेसागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्नू : आईजीपी
नेपाल प्रहरी कार्ययोजना-२०८० तथा कार्यसम्पादन सम्झौताको प्रथम त्रैमासिक कार्यप्रगति समीक्षा शुक्रबार सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गत साउनदेखि असोजसम्म ३ महिनाको प्रगति समीक्षा गरिएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीले समयसापेक्ष सांगठनिक विकासका साथै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यअनुरूप गरिएको कार्ययोजना सम्झौताको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण प्रहरी कार्यालयहरू प्रतिबद्ध हुनुपर्ने बताए ।
समग्र कार्यालयहरूको काम सन्तोषजनक भए पनि प्रहरी सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउँदै आम नागरिकले सहज सेवा पाउने गरी काम गर्नुपर्ने उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले पेसागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्न प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । कार्यसम्झौता कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोग प्रदान गर्ने उनले उल्लेख गरे ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ-आफ्ना प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौताअन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्यप्रगति विवरणलगायतका विषय समेटिएका थिए ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले समेत आ-आफ्ना प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधारलगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरूलगायतका विषयहरू समेटिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
प्रतिक्रिया