भारत र क्यानडाको सम्बन्धमा सुधार, ई-भिसा सेवा सुरू

करिब दुई महिनापछि भारतले क्यानडाका नागरिकका लागि ई-भिसा सेवा पुनर्स्थापित गरेको छ । क्यानडाका मानिसहरू अब भारत आउन सक्नेछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई-भिसा दिने काम सुरू भएको जानकारी दिए । क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई-भिसामा पनि प्रतिबन्ध लगाइएको थियो ।

क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि विदेशमन्त्री जयशंकरले बताए ।

ई-भिसाको नियम साधारण राहदानी लिएकाहरूका लागि हो । अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनु पर्नेछ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीपसिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए । उनको उक्त भनाइपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि कूटनीतिक सम्बन्ध थप बिग्रिएको थियो ।

भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानडाली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो । ई-भिसामा प्रतिबन्ध पनि ती चरणहरूमध्ये एक थियो । खालिस्तान समर्थक हरदीपसिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *