नेपाल-भारत संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको टाेली भारत प्रस्थान

नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास ‘सूर्यकिरण’ को १७ औं शृंखलामा सहभागी हुन नेपाली सेनाको फौज भारत प्रस्थान गरेको छ।

शुक्रबारदेखि उत्तराखण्डको पिथौरागढमा सुरू हुने संयुक्त सैन्य अभ्यासमा भाग लिन नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो।

वि.सं. २०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो आयोजना हुँदै आएको संयुक्त अभ्यास ‘सूर्यकिरण’ मा दुवै देशका सेनाहरूको गणस्तरका फौज सहभागी हुने गर्छन्।

अभ्यासको १६ औं शृंखला गत वर्ष पुस १ गतेदेखि १४ गतेसम्म रूपन्देही जिल्लाको सालझण्डीमा सञ्चालन भएको थियो।

यस वर्ष सञ्चालन हुने संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहने सैनिक जनसम्कपर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मंसिर २१ गतेसम्म सञ्चालन हुने संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगल युद्धकलासम्बन्धी व्यावहारिक अभ्यास गर्ने छन्।

प्रतिविद्रोह तथा प्रतिआतंकवाद, फौजको अन्तरक्रियाशीलता अभिवृद्धि र विपद् व्यवस्थापनमा केन्द्रित रही तालिम सञ्चालन गर्ने उद्देश्यले आयोजना हुने अभ्यास सूर्यकिरणको यस संस्करणले दुई देशबीचको वर्षौं पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै दुई देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर