ऋण लिएर १० ठाउँ लगानी गर्ने अनि तिर्दिनँ भन्ने छुट कसैलाई छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिनँ भन्ने छुट नरहेको बताएका हुन् ।

मन्त्री डा. महतले भने,‘सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिनँ भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभावी लगानी गर्ने अनि ऋण तिर्दिनँ भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।’

अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा सूचना र प्रविधि, जलविद्युत तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा. महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सूक्ष्म रूपमा खोज्न आग्रह गरे । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना फैलाएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *