काेशीमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन, ३ मन्त्री एक महिनादेखि जिम्मेवारीविहीन

सरकार गठन भएको एक महिना बितिसक्दा पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तीन मन्त्री विनाविभागीय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयसँगै आठ मन्त्रालयको जिम्मेवारी कार्कीको काँधमा छ ।

राजनीतिक अस्थिरताको परिणामस्वरूप मन्त्रीहरू विनाविभागीय बन्न पुगेका छन्  २७ असोजमा कांग्रेसबाट नियुक्त भएका शमशेर राई, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगू जिम्मेवारीविहीन छन् । त्यसअघि एमालेका रामबहादुर मगर २२ दिन विनाविभागीय मन्त्री भएर बिदा भए । मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो ।

विनाविभागीय तीन मन्त्रीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै काम गर्न कार्यकक्षको व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता बद्रीकुमार कार्कीले बताए । मन्त्रालयको जिम्मेवारी नतोकिँदा काम गर्न अप्ठ्यारो महसुस भएको मन्त्री जबेगूले बताए ।

‘प्रतिस्थापन विधेयकका लागि मलाई भौतिक पूर्वाधार मन्त्रालयको बजेट बनाउने जिम्मा दिइएको छ । मुख्यमन्त्री कार्यालयमा बसेर काम गरिरहेको छु,’ उनले भने, ‘विभागीय जिम्मेवारी नहुँदा के काम गर्ने भन्ने समस्या छ । पहिला पनि काम गर्ने ऊर्जा हुँदाहुँदै सरकार ढल्यो । अहिले पनि विभाग नतोकिँदा अप्ठ्यारै महसुस हुने रहेछ ।’ जबेगू उद्धव थापाको सरकारमा पनि मन्त्री थिए ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *