दुर्गा प्रसाईं र युवा संघको प्रदर्शनको दिन अत्यावश्यक काम परे मात्र सवारी लिएर निस्कन ट्राफिकको आग्रह
दुईवटा समूहले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको दिन भोलि मंसिर ७ गते उपत्यकाको ट्राफिक व्यवस्थापन नियन्त्रणबाहिर जान सक्ने अनुमान गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।
भोलि एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । भोलि हुने भनिएको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन आग्रह गरेको छ ।
‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनुभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,’ ट्राफिकले जारी गरेको सूचनामा उल्लेख छ ।
ट्राफिकले सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने जानकारी दिएको छ।
प्रतिक्रिया