इजरायलको मन्त्रिपरिषद्मा हमाससँग युद्धविराम गर्ने वा नगर्ने विषयमा आज मतदान

हमाससँगको युद्धविरामका लागि इजरायलको मन्त्रिपरिषद्मा आज मतदान हुँदैछ । इजरायल र हमास बीच वार्ताको मध्यस्थता गरिरहेको कतारले सम्झौताको नमुना पठाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मतदानका लागि मन्त्रिपरिषद् बैठक बोलाएकोको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न लागेको संकेत गरेका छन्। इजरायलको मन्त्रिपरिषद्को युद्धविराम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने छ ।

प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा बन्धक रिहा गर्नेबारे छलफलका लागि मन्त्रिपरिषदको विशेष बैठक बोलाएको जनाइएको छ । सम्झौतालाई मन्त्रिपरिषद् र सरकार दुवैमा छलफलमा ल्याइ निर्णय गर्नुपर्ने व्यवस्था छ । यसअघि हमासका नेता इस्माइल हनियाहले पनि इजरायलसँग युद्धविराम सम्झौता सफलताको नजिक रहेको प्रतिक्रिया दिएका थिए ।

सम्झौताको नमुनामा इजरायली जेलबाट प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका झण्डै ५० नागरिकको रिहाइ गर्न र लडाइ केही दिनका लागि रोक्ने उल्लेख छ । गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तीमा १३ हजार मानिस मारिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *