बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रूक्शाना कपाली

बेलायती सञ्चारमाध्यम बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ, जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर विमन) रूक्शाना कपाली पनि परेकी छिन्।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रूक्शाना नेपालमा एलजीबीटीक्यू प्लस समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि संघर्षरत छिन्।

बीबीसीले मंगलबार सूची जारी गर्दै रूक्शानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ। उनले हुर्कँदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ।

रूक्शाना पूर्वाञ्चल विश्वविद्यालयमा एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन्।उनी हाउजिङ क्याम्पेनरअन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ।

यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।

यस वर्ष बीबीसीको सूचीमा पूर्वअमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन्।

यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन्। संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ सुरू हुनुअघि यो सूची सार्वजनिक हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोकामगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरूको व्यवस्थापन गर्दै आएकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर