उत्तरकाशीमा १० दिनदेखि सुरूङमा फसेका मजदुरकाे भिडियाे सार्वजनिक

दस दिनदेखि भत्किएको सुरूङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलो पटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरूङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् ।

प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरूषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ ।

‘हामी तपाईंहरूलाई सुरक्षित रूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्,’ उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरूङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भिडियोमा भनेको सुन्न सकिन्छ ।

सुरूङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरूङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

क्यामेरा सुरू हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।

‘सबै कामदार पूर्णतया सुरक्षित छन्,’ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एक विज्ञप्तिमा भने, ‘उनीहरूलाई सुरक्षित रूपमा छिट्टै बाहिर निकाल्न हामीले पूरा प्रयास गरिरहेका छौँ ।’

उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए । प्रधानमन्त्री मोदीले कामदारलाई बाहिर निकाल्ने कार्यलाई राज्य सरकारले उच्च प्राथमिकतामा राखेको बताएको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *