अब डिजिटल कारोबार गर्दा पैसा नगइ काटेमा तीन दिनभित्र फिर्ता गर्नुपर्ने
अब मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता डिजिटल भुक्तानीको माध्यमबाट हुने कारोबार असफल भई सम्बन्धित खाताबाट पैसा काटिएमा ‘फोर्स सेटलमेन्ट’ गर्नुपर्ने भएको छ । यसअघि निश्चित समय नतोकिँदा कतिपय बैंक तथा सेवाप्रदायकले हप्तौँसम्म पनि यस्तो कारोबारको सेटलमेन्ट नगरिदिने समस्या थियो ।
तर, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता उपकरणबाट हुने असफल कारोबारको सटेलमेन्ट घटनाको प्रकृतिअनुसार एक दिनदेखि ३० दिनभित्र गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकाअनुसार पैसा पठाउने र पाउने खाता एउटै संस्थाको भएमा कारोबार भएको भोलिपल्टसम्म फोर्स सेटलमेन्ट गर्नुपर्नेछ । पैसा पठाउने र पाउने खाता फरक–फरक संस्थाका भएमा कारोबार भएको तीन दिनभित्र फोर्स सेटलमेन्ट गनुपर्छ । त्यस्तै, पठाउने र पाउने खातामध्ये कुनै एक विदेशी संस्था भएमा कारोबार भएको ३० दिनभित्र फोर्स सेटलमेन्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
डिजिटल माध्यमबाट भुक्तानी गर्दा कतिपय अवस्थामा कारोबार असफल भए पनि पठाउने व्यक्ति तथा संस्थाको खाताबाट पैसा काटिए पनि पाउनुपर्ने व्यक्ति तथा संस्थाको खातामा जम्मा हुँदैन । तर, त्यस्तो कारोबारको फोर्स सेटलमेन्ट, रिफन्डमा भने ढिलाइ हुने गरेको छ । त्यसले गर्दा ग्राहकले निकै सास्ती भोग्नुपरेको छ ।
सोही अवस्थालाई लक्षित गर्दै यसमा समयसीमा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस नीतिले ग्राहकलाई सहजता प्रदान गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले बताए । साथै, फोर्स सेटलमेन्ट गर्ने दायित्व सम्बन्धित दुवै संस्थालाई हुने उनको भनाइ छ । यसैगरी ग्राहकलाई साबिकमा उपलब्ध गराइँदै आइएको मोबाइल बैंकिङ, इन्टरेन्ट बैंकिङ, एमएमएस बैंकिङजस्ता सुविधा जानकारी नदिई बन्द गर्न नपाइने नीति पनि ल्याइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया