उत्तरकाशीमा सुरूङमा फसेका ४१ मजदुरको उद्धारका लागि नयाँ सुरूङ खन्दै उद्धारकर्मी
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरूङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरूङ खन्ने प्रयास गरिरहेका छन् ।
सुरूङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरूङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरूङ खन्ने विचार गरिरहेको छ ।
उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् ।
‘हरम्भव प्रयास भइरहेको छ,’ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भने, ‘सुरूङभित्र फसेका कामदार सुरक्षित छन् ।’ उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिए ।
वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रूहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन चौथाइ बनाइएको जानकारी दिए । ‘सुरूङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरूङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ ।’
सुरूङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन् । कामदारहरूलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ ।
सुरूङको मुखमा रहेको स्थानीय देवता बौखनागको मूल मन्दिर निर्माणका क्रममा सारिएको भन्दै गाउँलेहरूले हिन्दू मन्दिर स्थापना गरेका छन् । उनीहरूले सुरूङको मुखमा रहेको मन्दिर भत्किएका कारण सुरूङ भत्किएको दोष दिएका छन् ।
उक्त सुरूङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।
प्रतिक्रिया