‘नासा स्पेस एप्स च्यालेन्ज-२०२३’ मा नेपालका दुई टोली ग्लोबल फाइनलमा

गत अक्टोबर ७ र ८ मा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सञ्चालन गरेको ‘नासा स्पेस एप्स च्यालेन्ज-२०२३’ सहभागी टोलीहरूकोे राष्ट्रिय मूल्यांकन गरी जम्मा ७ टोलीलाई अन्तर्राष्ट्रिय मूल्यांकनका लागि सिफारिस गरिएकामा नेपालका दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत भएका छन्।

यो वर्ष काशी प्रदेशमा इटहरी, मधेस प्रदेशमा जनकपुर, बागमती प्रदेशमा ललितपुर, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदुरपश्चिम प्रदेशमा धनगढीमा सञ्चालित कार्यक्रममा सहभागीहरूले नासाले दिएको ३० च्यालेन्जमध्ये विभिन्न १८ च्यालेन्जमा जम्मा ५४ टोलीले काम गरेका थिए।

यी स्थानहरूमा ३०५ जना सहभागी थिए भने ४५ टोलीले च्यालेन्ज पूरा गरेका थिए। उक्त ४५ टोलीमध्ये ७ टोलीको कामलाई राष्ट्रिय मूल्यांकनमार्फत अन्तर्राष्ट्रिय मूल्यांकनका लागि सिफारिस गरिएकोमा नेपालका दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत भएका हुन्।

यसरी सूचीकृत हुनेमा धनगढीबाट सहभागी टोली ‘एसएके कस्मस’ तथा ललितपुरबाट सहभागी टोली ‘पाइराेफाइराे’ रहेका छन्। एसएके कस्मस टोलीले ‘आर्टेमिस सेकेन्ड एण्ड यू’ र पाइराेफाइराे टोलीले “म्याेनेजिघ फाइर : इन्क्रिजिङ कम्युनिटी-बेस्ड फाइर म्यानेजमेन्ट अपरच्युनिटिज’ च्यालेन्जमा काम गरेका थिए।

यो वर्ष १५२ देशका ५७,९९९ सहभागीहरूले ८,७१५ टोली बनाई विभिन्न च्यालेन्जमा काम गरेकामा ५,५५६ टोलीले ह्याकथनको नियमअनुसार समयमै आफ्ना प्रस्तावित समाधानहरू नासालाई बुझाएका थिए। यी ५,५५६ टोलीमध्ये नासाले जम्मा ४० टोली अन्तरार्ष्ट्रिय मूल्यांकनका लागि छनाेट गरेकमा २ टोली नेपालबाट छनौट भएका हुन्।

अब यी ४० टोलीको कामलाई नासाका वैज्ञानिकहरूले विभिन्न १० विधाका विजेताका रूपमा घोषणा गर्न थप मूल्यांकन गर्नेछन्। विजेताहरूको घोषणा जनवरी २३, २०२४ गर्ने जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *