कामको गति बढाउन मन्त्रालय र मातहतका अधिकारीलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्त्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा गति दिन उहाँले आग्रह गरे ।

कार्यसम्पादनको क्रममा आएका समस्या सकेसम्म आफैँ हल गर्न ध्यानाकर्षण गराउँदै उनले भने, ‘सकेसम्म समस्या आउनै नदिने गरी काम गर्नुस् । समस्या आए आफैँ अग्रसर भएर समाधान गर्नुस् । त्यसो पनि हुन नसकेको खण्डमा मात्रै मन्त्रालयमा ल्याउनुस् । समस्या समाधानका लागि म आफैँ अग्रसर भएर लाग्छु । परिणाम निस्कनु आवश्यक छ ।’

परम्परागत तवरले काम गरेर मात्रै अपेक्षित प्रगति हासिल हुन नसक्ने भएकाले इमान्दार र जिम्मेवार भएर काम गर्न उनलेसचिव, सहसचिव तथा विभागीय प्रमुखलाई आग्रह गरे ।
राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्नसमेत उनले ध्यानाकर्षण गराए ।

मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिए ।

जनतासँग प्रत्यक्ष रूपमा जोडिएको मन्त्रालय भएकाले पनि यस मन्त्रालयको भूमिका झनै महत्त्वपूर्ण रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले भने, ‘जनताले प्रत्यक्ष रूपमा राहत पाउने गरी कार्यसम्पादन हुनु आवश्यक छ । चाडपर्वहरू पनि सकिएका छन् । अब कुनै पनि बाहाना चल्ने छैन । तोकिएको लक्ष्य पूरा गर्न जिम्मेवार भएर लाग्नुस् ।’ मन्त्री बस्नेतले ठूला आयोजनामा देखिएको समस्या समाधान गर्न पनि निर्देशन दिए ।

यस्तै सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भमा मन्त्रालय र मातहतका निकायले त्यसको तयारी गर्न उनले आग्रह गरे । यसै महिनाको अन्तिमसम्म त्यसको एकमुष्ट विवरण पेस गर्न मन्त्री बस्नेतले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराए ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले प्राथमिकता क्रम निर्धारण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । छलफलमा मन्त्रालयका सहसचिवहरू, विद्युत विकास विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, नेपाल विद्युत प्राधिकरण र मन्त्रालय मातहत रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *