भ्वाइस अफ ग्लोबल साउथ समिटलाई आज साँझ सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीले आयोजना गरेको दोस्रो ग्लोबल साउथ समिटलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालले समिटलाई आज साँझ भर्चुअल रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतका प्रधानमन्त्री मोदीले दोस्रो भ्वाइस अफ ग्लोबल साउथको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्। भारतले आ-आफ्ना विचार तथा प्राथमिकता एकअर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको हो।

भारतले भ्वाइस अफ ग्लोबल साउथको पहिलो संस्करण करिब एक वर्षअघि भर्चुअल माध्यमबाटै गरेको थियो।

उद्घाटन सत्रको विषयवस्तु ‘एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रको विषयवस्तु ‘ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ’ रहेको छ। सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरू रहने जनाइएको छ।

भारतले यसअघि आयोजना गरेको समिटमा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सहभागिता जनाएका थिए। बैठकमा अन्य १४ राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए। यस्तै यसै वर्ष भारतमा सम्पन्न जी-२० सम्मेलनको फाइनान्स ट्र्याक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *