असुरक्षित टेम्पोः दुई दुर्घटनामा तीनको मृत्यु, सात घाइते

सस्तो तर असुरक्षित सवारीसाधन टेम्पो दुर्घटनाका बुधबार राती भएका दुई छुट्टाछुट्टै घटनामा अछाम र सुनसरीमा तीन जनाको मृत्यु हुनुका साथै सातजना घाइते भएका छन्। खतरनाक पहाडी बाटोमा तीब्र गति, अनावश्यक स्थानमा ओभरटेक गर्ने, चाँडै पुग्ने प्रतिस्पर्धा, मदिरा पिएर सवारी चलाउने लगायतका लापर्वाहीले दुर्घटना बढी भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।

अछामको समाचार अनुसार टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यसैगरी धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी इनरुवाको समाचार अनुसार मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *