जनकपुरधाममा छठको तयारी सुरू
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरू भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा शृङ्गार्न थालिएको छ।
कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ। तराईमा छठको छुट्टै महत्त्व रहेको डा. राजेन्द्र विमलले बताए। मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ।
प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ। विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताए। यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरू हुने गर्छ ।
अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ। छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताए। अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायको भनाइ छ।
ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको बाबा विभाष लाभले बताए। छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ।
छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता निरज आवाले जानकारी दिए। छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनको भनाइ छ ।
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउँछन्।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ। जसअनुसार सूर्य तत्त्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकार रोशन जनकपुरीको भनाइ छ। ‘भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ,’ उनले भने
मधेसमा ‘भरदुतीया’ मनाइँदै
यसैबीच मधेसमा ‘भरदुतीया’ पर्व मनाइँदै छ। भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ। यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ। यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।
दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मीठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ।
भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।
दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ।
त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।
बुधबारकै दिनदेखि छठ पर्वको आरम्भ भएको मानिन्छ।
प्रतिक्रिया